युवालाई व्यवसायिक कृषिमा आकर्षित गराउन कार्यक्रम जरुरी

युवालाई व्यवसायिक कृषिमा आकर्षित गराउन कार्यक्रम जरुरी

दैलेख – कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिका अध्यक्ष घनश्याम मण्डारीले संघीय प्रणाली अन्तरगत प्रदेश सरकार समन्वयकारी भूमिकामा रहेको बताउनभएको छ । कृषि विकास कार्यालय र पशु विकास कार्यालयले दैलेख आयोजना गरेको चालु आर्थिक वर्षको बजेट सार्वननिकीकरण कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो । 

उहाँले कार्यक्रम सञ्चालन हुनु अगाडि बजेट सार्वनिक गर्नु पारदर्शिताको अनुपम उदाहरण भएको बताउनुभयो । युवाहरुलाई व्यवसायिक कृषिमा आकर्षित गराउन नीति तथा कार्यक्रमहरु केन्द्रित गर्न सामाजिक विकास समितिका अध्यक्ष मण्डारीले सुझाव दिनुभयो । 

त्यसबखत प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीले विकास कार्यक्रम सञ्चालन गर्नेहरुबीच समन्वय प्रभावकारी बनाउन आग्रह गर्नुभयो । कर्णाली प्रदेशसभाका अर्का सदस्य गमता बिकले महिला तथा पिछडिएको जाति, वर्ग र क्षेत्रको जीवनस्तर उठाउने काममा ध्यान दिन सुझाव दिनुभयो । 

कार्यक्रममा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिव डा. नरहरी घिमिले कार्यक्रम प्रभावकारी बनाउन स्थानीय तहहरुको सहकार्यता जरुरी रहेको बताउनुभयो । 

नारायण नगरपालिकाका मेयर लोमन शर्माले प्रदेश सरकारबाट प्राप्त हुने विकास कार्यक्रमहरु स्थानीय तहसंग समन्वयमा सञ्चालन गर्दा बढी प्रभावकारी हुने बिश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको अध्यक्षता पशु विकास कार्यालय दैलेखका प्रमुख भीमबहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास कार्यालयका प्रमुख दशरथ पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो । 

त्यस बखत कृषि विकास कार्यालयको १३ करोड २७ लाख र पशु विकास कार्यालयले चालु आर्थिक वर्ष २०८०÷०८१ मा ५ करोड २७ लाख ५३ हजारको बजेट स्वीकृत भएको जानकारी दिइएको थियो । चालु आर्थिक वर्षको बजेट सार्वनिक अघि अघिल्लो आर्थिक वर्षमा यी २ कार्यालयले गरेका विकास गतिविधिको समीक्षा गरिएको थियो ।  

प्रतिक्रिया