२०८४ मा एमालेले मधेसबाटै बहुमत ल्याउँछ : अध्यक्ष ओली

२०८४ मा एमालेले मधेसबाटै बहुमत ल्याउँछ : अध्यक्ष ओली

जनकपुरधाम –   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावमा मधेसबाटै एमालेले बहुमत पाउने दाबी गर्नुभएको छ  ।

बुधबार जनकपुरधाममा एमाले मधेस प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै ओलीले कांग्रेस, माओवादी एमालेबाट त्रसित रहेको आरोप लगाउनुभयो  । एमाले लोकप्रिय पार्टी रहेको उहाँको भनाइ थियो ।

उनले मुलुकमा जतिखेर पनि एमालेको सरकार बन्न सक्ने टिप्पणी गर्दै मधेसमा विकास चाहिए एमालेलाई भोट दिनुपर्ने बताउनुभयो ।

एमालेलाई भोट नदिए कुनै पनि हालतमा मधेसमा विकास नहुने दाबी गर्दै ओलीले २०७४ सालमा आफूहरुलाई निषेध गरेको नबिर्सिएको जनाउनुभयो  । आफ्नो पार्टी मधेसमा पहिलो पार्टी बने पनि विभिन्न हावाहुरी चलाउनेको नेतृत्व मधेसमा रहेकाले विकास हुन नसकेको भन्दै उनले अब एमालेले नेतृत्व पाउनुपर्ने तर्क गर्नुभयो  ।

एमाले सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसवादी दलहरुको सत्ता लोभले मधेसको विकास नभएको दाबी गर्नुभयो  । उहाँले एमाले सदैव मधेसीको हक अधिकारको पक्षमा रहेको र एमालेले नै मधेसी जनताको अधिकार दिलाएको जिकिर गर्नुभयो  ।

महासचिव शंकर पोखरेलले मधेस प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनुभयो  । उहाँले सातै प्रदेशमध्ये मधेश प्रदेश सरकार सर्वाधिक असक्षम रहेको दाबी गर्नुभयो  ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको जन्मभूमि, कर्मभूमि र भविष्य पनि मधेस नै रहेकाले क्षेत्रीय दलहरुको भुलभुलैयामा मधेसी जनता नफस्ने दाबी गर्नुभयो ।

पार्टी सचिव तथा कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठले केपी ओलीकै कारण मधेसमा आज सडक, रेल सम्भव भएको बताउनुभयो  ।

उनले मधेसी जनताले एमालेलाई भोट हाले आगामी दिनमा सिँचाइको व्यवस्था पनि आफूहरूले गर्ने उहाँले बताउनुभयो ।

पोलिटब्यूरो सदस्यहरु लीलानाथ श्रेष्ठ, जुली महतो लगायतले मधेसी जनताले मधेसी दलबाट के पाए भन्ने प्रश्न गर्नुभयो  । एमाले बिना मधेसको विकास असम्भव भएको उनीहरूको जिकिर थियो ।

प्रतिक्रिया