चाडपर्वको मुखमा झारा टार्ने अनुगमन

मूल्यवृद्धि अचाक्ली

चाडपर्वको मुखमा झारा टार्ने अनुगमन

काठमाडौँ –  झन्डै एक महिनाअघि ९२ रुपैयाँ पाइने चिनी एक किलोग्राम चिनी किन्न अहिले उभपोक्ताले १५० रुपैयाँसम्म तिर्नुपरेको छ । जीराको मूल्य दोब्बरभन्दा बढीले वृद्धि भएर १२ रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ । चामल, दाल, फलफूल, अण्डा र तरकारीको मूल्य पनि उसैगरी आकासिएको छ ।

खुद्रा व्यापारीले अहिले एक किलो चिनीलाई १३० देखि १५० रुपैयाँसम्म लिइरहेका नेपाल खुद्रा व्यापार संघको भनाइ छ । चिनीको मूल्य अचाक्ली बढेपछि संघले चिनीको खुद्रा बजार बिक्री मूल्यसूचीमा चिनीको मूल्य राख्न नै छोडिसकेको छ । कारण हो, खुद्रा मूल्य तोके पनि साना खुद्रा व्यापारीले आफूखुसी मूल्यमा चिनी बिक्री गरिरहनु ।

‘चिनीको अहिले कुनै ‘रेट’ नै छैन् । बजारमा मनलाग्दी रुपमा चिनीको खुद्रा मूल्य छ । कसैले १३० रुपैयाँ केजीमा पनि किनेका छन्,’ संघका कार्यकारी सदस्य ध्रुव अधिकारीले भने, ‘संघले मूल्यसूचीमा चिनीको रेट नै राख्न छोडिसक्यो ।’ केही व्यापारीले १५० रुपैयाँसम्म लिएर चिनी बिक्री गरेको उनको भनाइ छ । सरकारले चिनी आयातका लागि कोटा प्रणाली लागू गरेको छ ।

थोक व्यापारीले सरकारले चिनी आयातका लागि सरकारले बेलामा अनुमति नदिएका कारण बजारमा चिनी अभाव पनि भएको र मूल्यवृद्धि पनि अचाक्ली भएको आरोप लगाइरहेका छन् । अत्यधिक मूल्यवृद्धि भएको अर्को उपभोग्य वस्तु हो, जीरा । २०८० बैशाखमा करिब ५५० रुपैयाँ प्रतिकिलो पर्ने जीराको मूल्य दोब्बरभन्दा बढी पुगेको छ ।

अहिले जीरा ९गेडा० मसलाको खुद्रा मूल्य साढे १२ सयसम्म पुगेको छ । चामलको मूल्य पनि आकासिएको छ । ३० केजीको सोना चामलको खुद्रा मूल्य १९५० पर्छ । खुद्रा पसलेले बिक्री गर्दा सोना चामलको मूल्य २ हजारसम्म लिने गरेका छन् । एक महिना अघि सोही चामलको खुद्रा मूल्य १४५० देखि १५०० सम्म मात्र पर्ने गरेको थियो ।

स्ट्रिम सोना ३० केजीको चामलको थोक मूल्य नै २१५० सम्म छ । खुद्रामा बिक्री गर्दा २२०० सम्म पर्ने गरेको छ । एक महिनाअघिसम्म उक्त चामलको थोक मूल्य १९५० सम्म पर्ने गथ्र्यो भने खुद्रामा २ हजारदेखि २०५० रुपैयाँ मूल्य पर्ने गरेको थियो । संघका अनुसार, पछिल्लो एक महिनामा सबैखाले चामलको मूल्य बोरामै १५० देखि २०० रुपैयाँसम्म बढेको छ ।

त्यस्तै, चना, रहर दाल, राजमा लगायतका गेडागुडीको मूल्य पनि बढेको बढ्यै छ । तरकारी तथा फलफूलको मूल्य पनि उसैगरी आकासिइरहेको छ । कालीमाटी तरकारी तथा फलफूल बजारका अनुसार अघिल्लो वर्ष २०७९ को असोज ८ को तुलनामा यस वर्ष प्याज, लसुन, लोकल गोलभेडा, टनेल गोलभेँडा, बन्दा, मूला, अदुवा, हरियो खुर्सानी, स्याउ, केरा लगायतका वस्तुको मूल्य बढेको छ ।

कालीमाटीको असोज ८ गतेको मूल्यसूची अनुसार, अघिल्लो वर्ष २०७९ असोज ८ मा २५ रुपैयाँ प्रतिकिलो पर्ने गोलभेडा सानो (लोकल)को मूल्य एक वर्षपछि दोब्बरले बढेको छ । २०८० असोज ८ गतेको मूल्यअनुसार उक्त गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ छ । अघिल्लो वर्ष सोही समयमा ३३ रुपैयाँ प्रतिकिलो पर्ने गोलभेडा सानो (टनेल)को मूल्य एक वर्षपछि सोही अवधिमा ७० रुपैयाँ पुगेको छ ।

त्यस्तै, ३७ रुपैयाँ प्रतिकिलो पर्ने सुकेको प्याज अहिले ७० रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ५५ रुपैयाँ प्रतिकिलो पर्ने बन्दा (लोकल)को अहिले सोही अवधिमा ५५ रुपैयाँ पुगेको छ । त्यस्तै, ३५ रुपैयाँ पर्ने मूला रातोको मूल्य एक वर्षपछि सोही अवधिमा ७६ रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १७५ रुपैयाँ प्रतिकिलो पर्ने रातो बन्दा २०८० को असोज ८ आइसक्दा ३५० पुगेको छ ।

अघिल्लो वर्ष २७५ रुपैयाँसम्म पाइने फुजी स्याउ एक वर्षपछि अहिले ३३५ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष अदुवा ६५ रुपैयाँमा प्रतिकिलोमा पाइनेमा अहिले मूल्य बढेर १७५ रुपैयाँ पुगेको छ । त्यस्तै, लसुन सुकेको नेपालीको मूल्य अघिल्लो वर्षको सोही अवधिमा २४५ रुपैयाँ प्रतिकिलो पर्नेमा अहिले मूल्य बढेर २६६ रुपैयाँ पुगेको छ । चाइनिज लसुनको मूल्य पनि अघिल्लो वर्षको तुलनामा यसवर्ष बढेर आएको छ ।

त्यस्तै, अहिले बजारमा कुखुराको अण्डा, मासुलगायतको मूल्य उच्च रुपले बढेको छ । २०८० भदौ ३ गतेपछि कुखुराको अण्डा प्रतिगोटाको मूल्य २० पुगेको छ । मध्यम साइजको अण्डाको प्रतिक्रेट ४७० रुपैयाँसम्म पर्छ । अण्डाको मूल्य समायोजन हुनुअघि प्रतिक्रेट मध्यम साइजको अण्डाको मूल्य ४१० रुपैयाँ थियो । अण्डासँगै ब्रोइलर कुखुराको मासुको मूल्य पनि बढेको छ ।

एक महिनाअघि ३४० देखि ३६० रुपैयाँ पर्ने ब्रोइलर कुखुराको तयारी मासुको मूल्य अहिले ४२० रुपैयाँ पुगेको छ । खाद्यान्न, फलफूल, तरकारीजन्य वस्तुदेखि अन्य वस्तुको मूल्य वृद्धि हुँदा पनि सरकार भने बेखबर छ । महंगी र मूल्यवृद्धि नियन्त्रणमा सरकार चुकेको छ । चाडपर्व आएपछि मात्र अनुगमनको झारा टार्ने गरिएको छ । मूल्यवृद्धि नियन्त्रण र गुणस्तर कायम राख्ने नियमनकारी निकायले गरेको अनुगमनको प्रभाव बजार देखिँदैन ।

उपभोक्ताकर्मी भन्छन्, हाम्रो कुरा सरकारले सुन्दैन

पछिल्लो पटक बढेको अस्वाभाविक रुपमा बढेको मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले पहल नै नगरेको उपभोक्ता अधिकारकर्मीको गुनासो छ । उपभोक्ता अधिकारकर्मीहरू मूल्यवृद्धि नियन्त्रणका लागि सरकारलाई पटक पटक लिखित र मौखिक रूपमा ज्ञापनपत्र बुझाए पनि सरकारले नसुनेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउनुहुन्छ ।

‘हामीले सरकारलाई अहिलेको बजार र मूल्यवृद्धिको सन्दर्भमा ४ महिना अघिदेखि नै बजारमा आपूर्ति व्यवस्थापन गर्न, मूल्य नियन्त्रणमा ल्याउन र, सरकारी संयन्त्रलाई चुस्त राख्न सरकारालाई आग्रह गरेका थियौँ,’ महर्जन भन्नुहुन्छ, ‘चाडको मुख पारेर मूल्यवृद्धि गराउने कुरा नियमित नै भइसक्यो ।’

भारतले चिनी र चामल लगायतका खाद्य सामान निर्यातमा बन्देज लगाइसकेपछि गत साउन २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सातबुँदे सुझावपत्र बुझाएको उहाँले बताउनुभयो  । जसमा चामल १ लाख मेट्रिक टन, धान १० लाख मेट्रिक टन, चिनी १ लाख मेट्रिक टन र गहुँ ३ लाख मेट्रिक टन तत्कालै आयात गरेर आपूर्ति व्यवस्थापनलाई सुदृढ गर्ने काम गरियो भने उपभोक्ताले राहत पाउँछ ।

‘अन्यथा, उपभोक्तालाई महंगीको मर्का पर्ने कुरा हामीले भनेका थियौं,’ उहाँले भन्नुभयो, ‘जुन, कुरा अहिले आएर प्रमाणित भइसकेको छ ।’ अहिले चिनीको खुद्रा मूल्य डेढ सय रुपैयाँसम्म पुग्ने अवस्था सरकारकै कारण निम्तिएको उनको आरोप छ । अस्वाभाविक मूल्यवृद्धिका कारण उपभोक्तालाई परेको मारप्रति दुःख व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘दुःख त यसअर्थमा लाग्छ कि त्यतिबेला नै हाम्रो कुरा सरकारले सुनेन् ।’

मूल्यवृद्धिबारे के भन्छ वाणिज्य विभाग ?

चाडपर्वकै मुखमा हुने मूल्यवृद्धि रोक्न नियमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग असक्षम देखिएको छ । एक त चाडपर्व आएपछि झारा टार्ने अनुगमन हुन्छ, अर्कोतिर विभागले जहिल्यै कर्मचारी अभावलाई कारण देखाउने गरेको छ । यसपाली पनि वाणिज्य विभागले चाडपर्वलक्षित अनुगमन सुरु गरिसकेको छ ।

संयुक्त बजार अनुगमन कार्ययोजना अनुसार १० वटा समूह बनाएर बजार अनुगमन गरिरहेको विभागका महानिर्देशक तीर्थराज चिलुवाल बताउनुहुन्छ  । बजारमा सबै वस्तुको मूल्य नबढेको उहाँको भनाइ छ । तर, केही वस्तुको मूल्यवृद्धि के कारणले बढेको हो र कुन तहमा बढेको छ भनेर अनुगमन गरिरहेको उहाँ बताउनुहुन्छ ।

‘सबै वस्तुको मूल्य बढेको होइन, तर केही वस्तुको जस्तो कि अहिले असाध्यै बाहिर आएको चिनीको मूल्य बढेको हो । बजारमा चिनिको अभाव र उपलव्धता पनि कम भएको अवस्थामा मूल्य अलिकति बढेको जस्तो देखिएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले कुन लेयर (तह)मा बढेको हो भनेर एक ‘टीम’ गठन भएर त्यसले अध्ययन गरिरहेको छ ।’

अहिले बजारमा वस्तुको उपलब्धता हुनु नै महत्वपूर्ण भएको उहाँ बताउनुहुन्छ  । ‘अहिले बजारमा कतिपय वस्तुका प्रतितपत्र(एलसी) नै खोलिएका छैनन् । किन खोलिएको छैन, भन्दा अहिलेको अर्थतन्त्र र मुलुक मन्दीको अवस्थामा भएर नै हो,’ उहाँले भन्नुभयो, ‘अहिले माग पनि त्यत्तिकै कम छ ।’ मूल्यवृद्धि नियन्त्रण र उपभोक्तालाई गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउन सरकारका निकाय र सम्बद्ध निकायहरु अनुगमन लगायतमा खटिएको उहाँले बताउनुभयो  ।

प्रतिक्रिया