कर्णालीलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्छ : उप-प्रधानमन्त्री खड्का

कर्णालीलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्छ  : उप-प्रधानमन्त्री खड्का

सुर्खेत –  नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने बताउनुभएको छ ।

शनिवार सुर्खेतको वीरेन्द्रनगरमा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । खड्काले कर्णाली प्रदेशको उन्नति, प्रगति र विकासका लागि एकता भने आवश्यक रहेको उल्लेख गर्नुभयो  ।

सिंगो कर्णाली प्रदेशको एकताले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकिने र कर्णाली प्रदेश सम्पन्न भएमा मुलुक पनि समृद्ध हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । कर्णाली प्रदेशमा पर्यटनसहित सबै क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै त्यसका लागि भौतिक पूर्वाधार निर्माणमा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो  ।

भौतिक पूर्वाधार निर्माणमा ढिलाइ भएकै कारण कर्णाली प्रदेश पर्यटन विकास देखि सबै क्षेत्रमा पछि परेको भन्दै अब पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बेला आएको बताउनुभयो  ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले भोटको राजनीतिका विकास निर्माणलाई असर गर्न नहुनेमा जोड दिनुभयो । विकास निर्माणमा पछि परेको कर्णाली प्रदेशको तीव्र विकासका लागि तीनवटै तहका सरकार, राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजलाई समेत सँगसँगै लिएर जानुपर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । उहाँले कर्णालीको विकासमा देखिएका समस्या र समाधानका उपाय पत्ता लगाएर देखिएका कमी कमजोरी सच्याएर काम गरे अबको १०(१५ वर्षमा कर्णालीलाई सम्पन्न प्रदेश बनाउन सकिने बताउनुभयो  ।

वर्तमान परिप्रेक्ष्यमा विकास निर्माणमा असर पार्ने गरी कसैले राजनीति गरे त्यो राजनीति नभई जनतामाथिको बेइमानी हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

उहाँले प्रादेशिक ओैधोगिक ग्रामको कामलाई पनि चाँडै सुरूवात हुने बताउनुभयो  । उपप्रधानमन्त्री खड्काले हालको सुर्खेत विमानस्थलले भविष्यको जनघनत्वको चाँप नधान्ने अवस्था रहेकाले बेलैमा नयाँ ठाउँमा ठूलो विमानस्थलका लागि अहिलेदेखिनै पहल गर्नुपर्ने आवश्कता औँल्याउनुभएको थियो  ।

प्रतिक्रिया