हुम्लाबाट २० टन स्याउ जिल्लाबाहिर निर्यात गरिने

हुम्लाबाट २० टन स्याउ जिल्लाबाहिर निर्यात गरिने

सिमकोट – ढुवानी अनुदानमा जिल्लाबाट स्याउ बाहिर ढुवानी हुने भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले (स्याउ जोन) ढुवानी अनुदानमा जिल्लाबाहिर निकासी गर्न लागिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ) का कार्यालय प्रमुख विष्णुबहादुर मग्रातीले यस वर्ष पहिलो पटक ७५ प्रतिशत ढुवानी अनुदानमा २० टन स्याउ जिल्लाबाहिर निकासी गर्न लागिएको बताउनुभयो ।

सिमकोटबाट नेपालगञ्जको ढुवानी दर प्रतिकेजी साठी रुपैयाँ पर्ने गर्छ । त्यसमा ४५ रुपैयाँ परियोजनाले अनुदान दिने र प्रतिकेजी १५ रुपैयाँ किसान आफैँले ढुवानी तिर्नु पर्नेछ ।
किसानले उत्पादन गरेको स्याउको बजारीकरणका लागि यो ढुवानी अनुदानको व्यवस्था गर्न लागिएको उहाँको भनाइ रहेको छ।

जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको बैठकले स्याउ किसानको उपस्थिति स्याउ जिल्ला बाहिर निकासी गर्न ढुवानी अनुदान दिने व्यवस्था गर्ने निर्णय गरेको हो । यसका लागि परियोजनाले दश लाख रुपैयाँ लगानी गर्नेछ। यसरी ढुवानी अनुदान दिन लागिएको स्याउ कातिक महिनामा टिपेको गुणस्तरीय हुनु पर्नेछ ।

उहाँले स्याउ काँचो नहोस र गुणस्तरीय स्याउ बजारमा बिक्री गर्नका लागि यो नियम लागू गरिएको बताउनुभयो । माथिल्लो हुम्लामा तीन वटा गाउँपालिका नाम्खा, सिमकोट र खार्पुनाथमा असोज महिनासम्म स्याउ काँचो हुने निष्कर्ष निकाल्दै कातिकमा मात्र टिप्ने निर्णय गरिएको हो ।

यसअघि पहिलो पटक स्याउको मूल्य प्रतिकेजी चालीस रुपैयाँ तोकिएको थियो । कातिक अघि टिपेको स्याउको मूल्यमा भने उक्त नियम लागू हुने छैन ।
यसअघि दानाका हिसाबले बिक्री भई रहेको कारण सबैतिर स्याउको मूल्य निर्धारण गर्न दबाव आइरहेका बेला मूल्य तोलिएको थियो ।

अब कात्तिकमा टिपेको स्याउको मूल्य प्रतिकेजी ४० रुपैयाँ तोकिएको छ। यसअघि हुम्लामा दानाका हिसाबले स्याउ बिक्री हुने गरेको थियो।

गाउँमा प्रतिदाना पाँच रुपैयाँ भए पनि सदरमुकाम सिमकोट भने प्रतिदाना १० रुपैयाँमा स्याउ बिक्री हुने गरेको थियो । यो मूल्य सिजन र बेसिजन पनि उस्तै हुने गरेको थियो । यसका लागि ६ दानासम्म प्रतिकेजीमा जाने भए ए ग्रेड र ६ भन्दा बढी दाना प्रतिकेजीमा गए बिग्रेड निर्धारण गरिएको छ। यो मूल्य सदरमुकाम सिमकोटका लागि लागू गरिएको हो ।

सिमकोटबाहिर भने स्थानीय ढुवानी घटाएर मूल्य निर्धारण हुनेछ। हुम्ला जिल्लामा दुई हजार ८८५ हेक्टर जमिनमा स्याउ लगाएर चार हजार ३२१ मेट्रिकटन स्याउ गत वर्ष उत्पादन भएको थियो। यसवर्ष उत्पादित स्याउको परिमाण भने आउन बाँकी छ।

प्रतिक्रिया