न्यायिक समितिलाई ठेकेदारले टेरेनन्

ज्याला मजदुरी र ठेकेदारको विवादले पछिल्लो समय चिन्तित

न्यायिक समितिलाई ठेकेदारले टेरेनन्

सङ्खुवासभा– मादी नगरपालिकाको न्या‍यिक समिति ज्याला मजदुरी र ठेकेदारको विवादले पछिल्लो समय चिन्तित बनेको छ । ठेकेदारहरुले स्थानीय मजदुरलाई श्रममा लगाउने तर ज्याला भने भुक्तानी नगर्ने गरेका मुद्दा न्यायिक समितिमा आउने गरेको र त्यसको छिनोफानोमा समस्या भएको हो । 

न्यायिक समितिको संयोजक भएयता समितिमा ज्याला मजदुरी सम्बन्धी ४ वटा संयुक्त मुद्दा आएको नगरपालिकाकी उपप्रमख सुनितादेवी भट्टराईले बताउनुभयो  । पक्की भौतिक संरचना बनाउन पालिका बाहिरको ठेकेदार तथा उपठेकेदारले स्थानीयलाई काममा लगाएर ज्याला दिएका छैनन् । उनीहरुलाई समितिमा छलफलको लागि बोलाउँदा पनि नआएको र प्रतिउत्तर पनि नदिँदा समस्या भएको बताउनुभयो  ।

‘मेल गरेर प्रतिउत्तर माग्दा पनि दिँदैनन् । मुद्दालाई फेरी तारिखमा राख्यो त्यसको पनि प्रतिउत्तर दिँदैनन् । ठेकेदारहरु नगरपालिकको स्वामित्व बाहिरका योजनाका पनि भएका हुँदैनन् । ठेकेदारहरुले साह्रै रुहाए,’ उहाँले बताउनुभयो । 

गत आर्थिक वर्षदेखि परेको यस्ता प्रकृतिका मुद्दा तारिख सार्दै राखेको र हालसम्म छलफल गर्न सकिएको छैन । सडक निर्माणको विवाद, नगर अस्पतालको एम्बुलेन्सको ठेकेदारले भाडा नतिरेको र दुई वटा कामदारको ज्याला नदिएको मुद्दाको गत आर्थिक वर्षदेखि बारम्बार छलफलको लागि ताकेता गरे पनि छलफल हुन नसकेको उहाँले बताउनुभयो  ।  

कानुनअनुसार न्यायिक समितिले विवाद मिलाउँदै आएको उपप्रमुख भट्टराईले बताउनुभयो  । मुद्दा दर्ता गराएपछि प्रतिउत्तर मागिने र प्रतिउत्तर दिइसकेपछि दुई पक्षलाई राखेर मेलमिलापको काम गरेको उहाँले सुनाउनुभयो  । पालिकामा ज्याला मजदुर बाहेक जग्गा साँधसिमाना, लेनदेनको विवाद पनि आउने गरेका छन् । नगरपालिकाको अमिन लगेर सिमाना नापेर जग्गाको मेलमिलाप गरिएको उहाँले बताउनुभयो  । अन्य किसिमका विवाद न्यायिक समितिले एक देखि तीन बसाईमा छिनोफानो गरेको बताउनुभयो  । 

प्रतिक्रिया