राजनीतिक दल चुनाव लक्षित हुनुहुँदैन : लामिछाने
![राजनीतिक दल चुनाव लक्षित हुनुहुँदैन : लामिछाने](https://snowberry.prixacdn.net/media/gallery_folder/ravi-lamichane_r5cVVFadQN_0a4opnu9tmd08szaw5jf2fdjrqqeynuylkoufos8i3sgmahudg2gaymr822s_HDy2Vjs97L_smqstrhdlsrbiis9mrxvshtwdaw7mbbgu3uakitz2o0lknzgxkb5v8afxikp_w1mO9yUx9m_sarykwffeq7xtudoi4xjdxk0egwvzmajpfsdftsuxbcmn56ihnqw5hcdmh1n.jpg)
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने बताउनुभएको छ । सोमबारबाट सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताउनुभएको हो ।
उहाँले राजनीतिक दलका विचार, अभिव्यक्तिहरू स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरू पनि परेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ । कहिले काहीँ राजनीतिक दलका विचार, अभिव्यक्तिहरू स्पष्ट नआउँदा अनुमान जल्दछन् र शङ्का नै शङ्का, आशङ्का नै आशङ्कामा हामीलाई पनि कयौँ अनुमानको घेरामा राखिएको छ । यो परिवर्तनमा आफ्नो सारा जीवन बिताएका नेताहरूप्रति कहिले कहीँ कटाक्ष गरेको मात्र यहाँहरूले सुन्नुभएको छ होला, विषय केन्द्रित कटाक्ष हुन सक्छन् तर समग्रमा मुलुकको परिवर्तनमा उहाँहरूले दिएको योगदानलाई अवमूल्यन गर्ने न आँट, न साहस न योजना छ । परिवर्तनलाई अवमूल्यन गर्ने ध्येय हुँदैन ।’
सभापति लामिछानेले रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको बताए। उनले पुराना राजनीतिक दलहरूमा अझै पनि राणा शासन कायम रहेको बताउनुभयो । उहाँले देशले व्यवस्था बदलेको भए पनि राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र नहुँदा समस्या आएको जिकिर गर्नुभयो ।
प्रतिक्रिया