पाणिनीले बाच्छा र बाच्छीको पनि जन्मदर्ता गर्ने

पाणिनीले बाच्छा र बाच्छीको पनि जन्मदर्ता गर्ने

अर्घाखाँची –   पाणिनी गाउँपालिकाले बाच्छा तथा बाच्छीको जन्मदर्ता गर्ने भएको छ । गाउँपालिकाले पालिकाभित्र जन्मिएका बाच्छा र बाच्छीको जन्मदर्ता गर्न लागेको हो । गाई तथा पशुहरुको एकीकृत तथ्यांक अध्यावधिक गरिराख्न बाच्छा तथा बाच्छी दर्ता गर्न लागिएको हो । 

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ देखि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । गाउँपालिकाको पशु शाखाका प्रमुख कृष्ण प्रसाद घिमिरेका अनुसार पालिकाले उन्नत जातको गाई प्रवर्द्धनका लागि बाच्छा तथा बाच्छी जन्मदर्ता बनाउन गर्न लागेको हो । जन्मदर्ताको लागि गाउँपालिकाबाट प्राविधिकसहितको टोली कृषकको घरमा गएर ट्याग लगाइदिने र आवश्यक प्रकृया सम्बन्धित वडा कार्यालयले गर्ने बताउनुभयो  । 

उहाँका अनुसार गाउँपालिकाले सो कार्यक्रमको लागि पालिकाले चालु आवमा एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जन्मदर्ता गरेको बाच्छीले सोही घरमा पहिलो पटक बच्चा जन्माएमा सुत्केरी भत्ता स्वरुप १० हजार रुपैयाँ दिने योजना बनाएको उहाँले बताउनुभयो  । 

गाउँपालिकाभित्र करिब ५०० घरधुरी पशुपालक कृषक रहेको बताउनुभयो  । गाउँपालिकामा गत आर्थिक वर्षमा १० लाख लिटर दूध उत्पादन भएको थियो । दूध उत्पादन गर्ने कृषकलाई उत्पादनको आधारमा अनुदान रकम दिँदै आएको बताउनुभयो । 

दूध उत्पादन गर्ने कृषकलाई समेत वर्गीकरण गर्ने योजना बनाएको उहाँले बताउनुभयो  । उनका अनुसार गाउँपालिकाले चालु आवमा ५०० देखि तीन हजार र तीन हजारभन्दा बढी दूध उत्पादन गर्ने कृषक वर्गीकरण गरिने छ । (पालिकाखबर)

प्रतिक्रिया