सीता एयरद्वारा एकै दिनमा पाँच वटा उडान

सीता एयरद्वारा एकै दिनमा पाँच वटा उडान

सिमकोट – यातायातको अन्य विकल्प नभएको हिमाली जिल्ला हुम्लामा उडान कम भर्ने भनेर टिप्पणी व्यहोरिरहेको निजी एयरलाइन्सको सीता एयरले बिहीबार एक्कै दिनमा पाँच वटा उडान भरेको छ। 

हप्तामा ६ दिन काठमाडौं केन्द्रित भएर उडान भर्दै आएको उक्त एयरलाइन्सको जहाज नेपालगञ्ज आएका बेला सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लालाई प्राथमिकतामा राखेर धेरै उडान भरेको हो ।

सीता एयर सिमकोटका इञ्चार्ज छेपेल लामाले सीता एयरले बिहीबार मात्र पाँच वटा उडान भरेको बताउनुभयो । यीमध्ये दुई वटा उडान सुर्खेत र बाँकी तीन वटा उडान भने नेपालगञ्जबाट गरेको थियो ।

सीता एयरले एकै दिनमा धेरै उडान भर्दा नेपालगञ्ज र सुर्खेतबाट ६५ जना जिल्लावासी दसैँ मनाउन घर आउन पाएका छन् भने सिमकोटबाट पनि ७८ जना कर्मचारी र अन्य मानिस दसैँका लागि आफ्ना गन्तव्यमा जान पाएका छन् ।

सीता एयरसँग जिल्लावासीको कम्तीमा पनि हप्तामा चार वटा उडान हुनुपर्ने माग रहँदै आएको छ। आज सीता एयरले धेरै उडान भर्दा दसैँ मनाउने यात्रुलाई निकै राहत पुगेको छ। त्यसै त समिट एयरले पनि दैनिक एक उडान भरेर आफ्नो सेवा प्रदान गरिरहेको छ।

जिल्लावासीका लागि समिट एयर एक भरपर्दो हवाई यातायातको साधनका रूपमा देखिएको छ। तारा एयरले भने हप्तामा एक उडान भर्ने गर्दै आएको छ।

प्रतिक्रिया