धादिङको खरीमा भूकम्पले दर्जन बढी घरमा क्षति, विवरण सङ्कलन जारी

धादिङको खरीमा भूकम्पले दर्जन बढी घरमा क्षति, विवरण सङ्कलन जारी

धादिङ - आइतबार बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको ज्वालामुखी गाउँपालिका–५ खरी दर्बुङघाट केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरको भूकम्पले दर्जन बढी घर क्षति भएकाे र अझैं तथ्यांक संकलन कार्य भइरहेकाे जनाइएकाे छ ।

भूकम्पको केन्द्रबिन्दु र आसपासका क्षेत्रका केही घरमा क्षति पुगेको छ । ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनई भूकम्पका कारण दुई वटा घरमा पूर्ण क्षति पुगेको छ भने १० वटा घरमा आंशिक क्षति भएको प्रारम्भिक जानकारी आएकाे जानकारी दिनुभयाे । 

‘अहिलेसम्म १२ वटा घरमा क्षति भएको विवरण आएको छ, अरु पनि क्षति बारे अनुगमन गर्दैछौँ’, उहाँले जानकारी दिनुभयो । भूकम्पपछि वडा नम्बर ५ को एक ठाउँमा ठूलो पहिरोसमेत गएको छ । भूकम्प गएपछि बिहान त्यस क्षेत्रमा केहीबेर विद्युत् आपूर्ति बन्द भएको थियो । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई घर बाहिरै सुरक्षित बस्न भनिएको हो ।

वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले भूकम्पपछि लगातारजसो परकम्प आइरहेकाले सचेत हुन आग्रह गर्नुभएको छ । बिहान भूकम्प गएपछि धादिङका धेरै ठाउँका बासिन्दा घर बाहिर निस्किएका थिए ।

असोज १६ गते  ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएपछि बझाङमा पनि  लगातारजसो साना र मध्यम भूकम्प तथा परकम्प गइरहेको छ ।  नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र रहेकाले जुनसुकै बेला पनि ठूलो भूकम्पको जोखिममा रहेको विज्ञले बताउँदै आएका छन् । 

प्रतिक्रिया