कुटपिटबाट घाइतेको उपचारको क्रममा मृत्यू

कुटपिटबाट घाइतेको उपचारको क्रममा मृत्यू

दैलेख - मंगलबार राति बडादशैंको खुशियाली मनाउन जम्मा भएका युवाहरुबीच दैलेखमा भएको कुटपिट घटनाका घाइते एक युवकको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा शुक्रवार मृत्यू भएको छ । 

बडादशैंको दिन दैलेखको जिल्ला सदरमुकाम नारायण नगरपालिका–७ जार्जेखोला कालिमाटी भन्ने ठाउँमा राति ९ बजे भएको जमघटमा कुटपिटबाट घाइते नारायण नगरपालिका–७ किमुगाउँका २५ वर्षीय रोहन शाहीको उपचारको क्रममा शुक्रबार मृत्यू भएको प्रहरीले जानकारी दिएको छ । 

घटनामा घाइते दुई जना नारायण नगरपालिका–७ किमुगाउँका रोहन र रोहनका भतिज २६ वर्षीय धीरेन्द्र शाहीलाई मंगलबार राति प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पु¥याइएकोमा रोहनको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यले बताउनुभयो ।  

पीडित पक्षले कुटपिटमा संलग्न नारायण नगरपालिका–७ का ८ जना बिरुद्ध कितानी उजुरी गरेकोमा २८ वर्षीय हिक्मत बुढा, ४५ वर्षीय पूर्णबहादुर बुढा, २३ वर्षीय बिमल बुढा र ४४ वर्षीया खगिसरा बुढालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान थालेको छ । घटनामा संलग्न ४ जना आरोपितहरु फरार रहेको प्रहरीले जनाएको छ । 

घटना लगतै प्रहरीले पक्राउ गरेका ती र फरार समेतलाई ज्यान मार्ने उद्योगमा मुद्दा चmलाएकोमा शुक्रबार रोहनको ज्यान गएपछि पीडित पक्षले कर्तव्य ज्यान सम्वन्धी पूरक जाहेरी ल्याए अनुसार व्यक्ति हत्या कसूरमा अनुसन्धान सुरु भएको बताइएको छ । 

यसैबीच गए राति दैलेखको भैरबी गाउँपालिका–४ सिलङ्गी गाउँमा हुलहुज्जत गरेको भनी नियन्त्रण लिई कुटपिट गरिएको घटनाका घाइते सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको उपचारको क्रममा शुक्रबार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यू भएको थियाे । 

दैलेखमा दशैंको समयमा दर्जन बढी साँघातिक आक्रमणका घटनाहरु भएका ती मध्ये शुक्रबार एकै दिन दुई जनाको मृत्यू भएको छ । यी दुवै युवकहरु ४–५ महिना अघि मात्र विवाह गरेका जानकारीमा आएको छ । रोहनका एक दाजु र एक बहिनी मात्र बाँचेका छन । 

सुर्खेतका किशोर बुढा क्षेत्री पहिलो पटक ससुराली आएका एक्लो छोरा हुन्, उनका दुई दिदीहरु छन् । क्षेत्रीको हत्यामा संलग्न रहेको भनिएका भैरबी गाउँपालिका–४ सिलङ्गीका तीन जना १९ वर्षीय झविन्द्र शाही, २१ वर्षीय धर्मराज अधिकारी र ३२ वर्षीया मनिषा रिजाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो ।  

प्रतिक्रिया