सिलङ्गी हत्या घटनाका तीनै जना आरोपित पक्राउ

सिलङ्गी हत्या घटनाका तीनै जना आरोपित पक्राउ हत्या गरिएका किशोर बुढा क्षेत्री
सुन्नुहोस्

 दैलेख – गएराति दैलेखको भैरबी गाउँपालिका–४ सिलङ्गी गाउँमा हुलहुज्जत गरेको भनी नियन्त्रण लिई हत्या गरेको भनिएको सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीकाे हत्या घटनाका आरोपित तीन जना सबैलाई प्रहरीले पक्राउ गरेको छ । 

भैरबी गाउँपालिका–४ सिलङ्गीका १९ वर्षीय झविन्द्र शाही, २१ वर्षीय धर्मराज अधिकारी र ३२ वर्षीया मनिषा रिजाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यले जानकारी दिनुभयो ।

दैलेख प्रहरी इञ्चार्ज डीएसपी किशोर लम्साल आफै घटनास्थल पुगेर प्रहरी जनशक्ति परिचाललन गरी अनुसन्धान र आरोपित पक्राउ गर्न सफल हुनुभएको हो । 

भैरबी गाउँपालिका–५ सैनचौरस्थित ससुराली गएका किशोर बुढा क्षेत्री र उनका जेठान सुमन शाहीले सिलङ्गीबजारमा मोटरसाइकलमा गालीगलौज गर्दै हिंडेको विषयमा स्थानीय युवाहरुसंग विवादमा झडप भएको थियो । झडप नियन्त्रण गरी प्रहरीले घाइतेहरुलाई उपचारका लागि पठाएको थियो । 

झडपको क्रममा घाइते भएका भैरबी गाउँपालिका–५ सैनचौरका २१ वर्षीय सुमन शाहीलाई प्रहरीले दुल्लू अस्पतालमा पु¥याएकोमा सामान्य उपचार गरी फर्किएका र किशोर बुढा क्षेत्रीलाई थप उपचारका लागि सुर्खेत पठाइएको थियो प्रहरी निरीक्षक आचार्यले भन्नुभयो । 

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारकाे क्रममा क्षेत्रीकाे शुक्रबार विहान मृत्यू भएकाे र मृतककाे शव पाेष्टमार्टम प्रदेश अस्पतालमै शुक्रबार भएकाे बताइएकाे छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएका र मुद्दा चाहिँ दैलेखमा चल्ने जनाइएकाे छ । 

क्षेत्री पहिलो पटक ससुराली आएका एक्लो छोरा हुन्, उनका दुई दिदीहरु विवाह गरिसकेका छन् । ५ वर्ष अघि नै ९ कक्षाको पढाई छोडेका क्षेत्रीले पाँच महिना अघि विवाह गरेका थिए । उनकी श्रीमतिले बीरेन्द्रनगर नगरपालिका–२ स्थित घरबाटै कक्षा १० को पढाई निरन्तरता दिएकी छिन् ।
 

प्रतिक्रिया