अराजकताको बाटोमा समाज

अराजकताको बाटोमा समाज

बडा दशैको दिन राति भएको जमघटमा कुपिटबाट घाइते भएका नारायण नगरपालिका–७ दैलेखका २५ बर्षिय रोहन शाहीको मृत्यु भयो । 

भैरवी गाउपालिका –४ को सिलङ्गीमा सामाजिक सदभावमा खलल पु¥याएको भनी स्थानीयले नियन्त्रणमा लिएपछि गरिएको कुटपिटबाट बिरेन्द्रनगर नगरपालिका–२ सुर्खेतका २० बर्षिय किशोर बुढा क्षेत्रीको उपचारका क्रममा मृत्यु । 

त्यसैगरी मुगुमा एउटै परिवारका ४ जना र सल्यानमा नमस्कार नगरेको निहुँमा एक जनाको हत्या भएको छ  । 

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले निम्त्याएका कतिपय घटनाहरु बाहिर नआउदै सेलाउने गरेका छन भने साइबर क्राइमका मुद्धाहरुको भरपर्दाे विश्वसनियता पनि छैन् । केही दिन अगाडी एक जना परिचित बहिनीले मेरो मोवाईलमा म्यासेज गरिन् । सर तपाईलाई भेटन सकिन्छ कि कता हुनुहुन्छ आजभोली ? मैले किन भनेर प्रश्न गरे ?  उनले भनिन, “एक जनाको फेसबुकबाट फ्राईन्ड रिक्वईस्ट आयो । मैले उसको प्रोफाईल हेरे । प्रोफाईल लक गरिएको थियो । नचिनेपछि स्विकार गरिन । त्यसपछि त्यही नामबाट फेरी म्यासेज आयो । फ्राईन्ड रिक्वइस्ट स्विकार किन नगरेको । तेरो फोटा सामाजिक सञ्जालमा राखेर बदनाम गर्छु ।” यस्ता म्यासेज उनलाई लगातार आइरहे । मैले साईबर ब्यूरोमा उजुरी गर्न सुझाव दिए । उनले उजुरी पनि गरिन् तर अझै पनि न्याय पाएकी छैनन । 

केही दिन अगाडी कर्णाली हाइवेको सडक नजिकै चिया पिउदै थिए । नेपाल सरकारको झण्डा हालेको गाडी आयो । त्यो सँगै लगातार अरु गाडीहरु पनि थिए ।  चियागफमा सहभागी धेरै जनाको अन्दाज थियो कोही मन्त्री आए होलान् । तिनै सहभागीहरु मध्ये एकजनाले भने कोही “चोर” आयो होला । अहिले झण्डा हालेर आ छ । ५ वर्ष पछि यिनलाई देखाउनु पर्छ । मलाई उत्सुक्ता जागेर फेरी सोधे किन “चोर” भनेउ भाई ? उनले मन अमिलो गर्दै भने, 'चुनावमा के न के गर्छु भनेर आश्वाशन बाडदै जित्छन । उनले सडक देखाउदै भने यो सडकको खाडल पहिला जस्तो थियो अहिले पनि उस्तै छ । गाउमा रोजगारी छैन, उद्योगहरु छैनन् । खानेपानीका धाराहरुमा पानी पग्दैन् । गाउघरका सबै पाखाहरु बाझा छन् । अस्पतालमा उपचार नपाएर विरामीको मृत्यु हुन्छ । किन चाहिए यस्ता नेता । यो देश कहिल्यै बन्दैन जस्तो लाग्छ । अब विदेश जाने भन्दै चियाको गिलास राखेर उनी उकालो लागे । 

केही दिन अगाडी काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा चोरसरकार भनेर स्टाटस लेखे । उनले स्टाटस लेखेको एक घण्टामै करिब ५० हजार भन्दा बढिले उनलाई कमेन्ट गरिसकेका थिए । अधिकांसको धारणा बालेन शाहले दिएको अभिव्यक्तिसँग मेल खाने थिए र राज्य सञ्चालकप्रतिका असन्तुष्टिहरु प्रष्टै देख्न सकिन्थ्यो

मैले सोचे किन मान्छेहरुमा यति धेरै नकारात्मक सोच र राज्यप्रति वितृष्ण बढिरहेको छ । अहिले मानवता अनि समवेदना हराएको प्रष्टै देख्न सकिन्छ । आस्था र विश्वासका  खम्वाहरु ढलेका छन । अनि नैतिकता हराएको छ ।  सामाजिक सदभावहरु खलबलिएका छन् । दया, माया अनि स्नेह र भाईचाराको व्यवहार देख्न सकिदैन । नैतिकता हराएको समाजमा  न मानवता हुन्छ न सम्वेदना भेटाउन सकिन्छ । आवेग र संवेगहरुको नियन्त्रण चेतनाले गर्ने हो । चेतना उसको सभ्यताले सिर्जना गर्छ । हामीसँग सभ्यता, सामाजिक नियम र मर्यादाहरु रहेनन भने त्यसबाट उत्पन्न हुने द्धन्द्धहरु मानव विकासको सबै भन्दा घातक परिणाम हुन पुग्नेछन्  । माथिका यि घटनाहरु केही प्रतिनिधिमुलक घटनाहरु मात्रै हुन । जुन सामाजिक सञ्जालमा देख्न र चिया गफमा सुन्न पाईन्छ । यस्ता घटनाहरुले हाम्रो समाज अब कता गईरहेको छ भन्ने अनुमान गर्न समय लाग्दैन् । 

विज्ञान र प्रविधिको विकासले गर्दा समाज द्रुत रुपमा परिवर्तन भईरहेको छ । समाज विज्ञानका पनि आफनै नियमहरु हुन्छन् । हाम्रो संस्कार, हाम्रो सभ्यता, हाम्रो पहिचान र रितिवाज धेरै लामो समयको सामाजिक विकासबाट सिर्जना भएका सम्पत्ति हुन । सूचना र प्रविधिको तिव्र विकासक्रमले गर्दा यी मूल्यमान्यताहरुमा ह्रास आएको छ । स्वतन्त्रताको नाममा अराजकता बढेको छ । अराजकता राजनीतिक अशान्ति र आर्थिक अस्थिरता देखि सामाजिक विवाद र वातावरणीय संकटसम्म प्रकट भएको देखिन्छ । यस्ता अराजकताबाट उत्पन्न हुने समस्या र परिणामहरुको खोजी गरी सामाञ्जस्यपूर्ण वातावरणको सिर्जना गर्नु आजको मुल आवश्यकता हो । 

अराजक समाज त्यो हो जहाँ जीवनका विभिन्न पक्षहरुमा अव्यवस्था, अनिश्चितता र अस्थिरता ब्यापक हुन्छ । यसले राजनीतिक, आर्थिक र सामाजिक मूल्यमान्यताहरुमा प्रभाव पार्दछ । यस्तो समाजमा विधिको शासन रहदैन् । नागरिकहरुको अत्यावशकीय सेवामा पहुँच नहुन सक्छ र सार्वजनिक संस्थामाथीको विश्वास घटना सक्छ । कुनै व्यक्तिको हत्यामा हुने संलग्नताबाट नडराउनु भनेकै राज्यका कानुनी संयन्त्रप्रतिको अविश्वशनीयता र मनोसामाजिक विज्ञानको प्रभावका रुपमा लिन सकिन्छ । 

मनोसामाजिक समस्या पनि हरेक व्यक्तिमा त्यतिकै देखिन थालेको छ । मनोसामाजिक समस्याले हरेक व्यक्ति, परिवार र समाजलाई छोएको छ । व्यक्तिको भावना, सोचाइ, बुझाइ तथा संवेगका विभिन्न पक्षहरुबिच तालमेल नमिल्दा मनोसामाजिक समस्या देखिने हो । सन २०३० भन्दा पछि धेरै ठुलो समस्याका रुपमा मनोसामाजिक समस्या देखिने विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेका छन । सामुहिक वलात्कार, हत्या, हिँसा लगाएतका असामान्य समाजिक व्यवहार मनोसामाजिक समस्याको एउटा प्रभाव हो ।

अराजकताका विभिनन कारणहरु मध्ये एउटा मुख्य कारण राजनीतिक अस्थिरता पनि हो । राजनीतिक अस्थिरतालाई समाजमा अराजकताको प्रमुख चालकका रुपमा लिन सकिन्छ । अराजकता भ्रष्ट शासन व्यवस्था, बारम्बर शासन परिवर्तन वा लोकतान्त्रिक प्रक्रियाहरुको असफलताबाट पनि उत्पन्न हुन सक्दछ । अहिलेको नागरिकलाई राज्यका संयन्त्रप्रति विश्वासनै देखिदैन । कसले के गर्न सक्छ र भन्ने अराजक मनोवृत्तिले काम गरिरहेको छ । त्यो उनीहरुको राज्यप्रतिको असन्तुष्टिपनि हो । राजनीतिक अस्थिरताको अभावले नागरिकहरुमा अशान्ति, विरोध प्रदर्शन, हिंसात्मक द्धन्द्धहरु अराजकतामा योगदान पु¥याउछन् । 

  • अराजकताले समाजमा गहिरो जरा गाढेका कारण यसका दुरगामी असरहरु लामो समयसम्मा देखिन सक्छन ।  राजनीतिक अस्थिरता, आर्थिक उथलपुथल, सामाजिक असमानता, वातावरणीय संकट र प्राविधिक अवरोधले अराजकता सिर्जना गर्न सक्छ । 
  • यस्ता मुद्धाहरुको समाधान गर्न सुशासन आर्थिक सुधार सामाजिक समानता वातावरणीय दिगोपन र जिम्मेवार प्रविधिको प्रयोग आवश्यक छ ।

स्थायित्व र मेलमिलापयुक्त सभ्य समाजको निर्माण चुनौतीपूर्ण कार्य भए पनि असम्भव भने छैन । यी कारकहरुको अन्तरसम्बन्धलाई बुझेर विधिको शासन, रोजगारीको सिर्जना, आर्थिक सुदृढिकरण, सकारात्मक सोच र नैतिक आचारणलाई जोड दिएर अराजकता कम गर्न सकिन्छ ।-लेखक अधिकारी सामाजिक सवालहरुमा कलम चलाउनुहुन्छ ।  

प्रतिक्रिया