रिगललाई आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज

रिगललाई आममाफी दिने निर्णयविरुद्धको  सुनुवाइ  आज

काठमाडौँ –  योगराज ढकाल (रिगल) लाई कैद मिनाह गरी आममाफी दिने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा आज (बुधबार)पनि सुनुवाइ हुँदैछ। राष्ट्रपतिबाट कैद मिनाहा पाएका रिगल भनिने योगराज ढकालविरुद्धको रिटमा सर्वोच्च अदालतमा मंगलबार पनि सुनुवाइ भएको थियो। 

ढकालविरुद्धको रिटमा निरन्तर सुनुवाइ हुने गरी ‘हेर्दाहेर्दै’ मा राखिएको छ। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बहस गरेका थिए। 

आज महान्यायाधिवक्ता डा.दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गर्ने तयारी छ। 

संविधान दिवसका अवसरमा गएको असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकालको कैद मिनाहा भएको थियो। ज्यान मुद्दामा जन्मकैद सजाय पाएका ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि चौतर्फी विरोध हुँदै आएको छ।  राष्ट्रपतिको निर्णयविरुद्ध ढकालले हत्या गरेका चेतन मानन्धरकी पूर्वपत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी हुन्। 

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा  हिजो भएको बहसमा रिगललाई आम माफी दिने सरकारी निर्णयको चर्को आलोचना भएको छ। न्यौपानेले राष्ट्रपतिले राजनीतिक आग्रहका आधारमा जघन्य अपराधमा संलग्न व्यक्तिलाई कैद मिनाहा दिएको जिकिर गर्दै राष्ट्रपतिले संवैधानिक अधिकारको दुरुपयोग गरेको बताएका थिए।

यो रिटमा गत असोज २५ गते नै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि मंगलबारका लागि रारिएको थियो।

गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्ने कारणसहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो।
 
अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेश गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्नसमेत आदेश दिएको थियो।

प्रतिक्रिया