एमालेद्वारा शुभकामना चियापान कार्यक्रम

एमालेद्वारा शुभकामना चियापान कार्यक्रम

काठमाण्डौ – प्रमुख विपक्षी दल नेकपा (एमाले)द्वारा दशैँ, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुभयो । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा आज बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुभएको हो । 

चियापान कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समावादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागी हनुभएकाे थियाे । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा मालेका महासचिव सिपी मैनाली, पूर्वसभामुख दमननाथ ढुङ्गाना, विभिन्न राजनीतिक दलका नेता, नेपालमा रहेको कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीसहितको उपस्थिति रहेको थियो ।

एमालेले दशैँ लगत्तै हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको छ । यस वर्ष (हिजो) कात्तिक १४ गते आयोजना गरिएको यो कार्यक्रम संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एक दिनपछि बुधबार सारिएको हो । चियापान कार्यक्रममा एमालेका नेता, कार्यकर्ताको व्यापक सहभागिता थियो । 

प्रतिक्रिया