आठबीसकोटका विभिन्न ठाउँमा निःशुल्क आँखा शिविर

आठबीसकोटका विभिन्न ठाउँमा निःशुल्क आँखा शिविर

रुकुम पश्चिम –  रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका विभिन्न ठाउँमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको छ । दुर्गमका नागरिकका आँखा जाँच्न ठाउँ ठाउँमा शिविर आयोजना गरिएको हो ।

 नेपाल नेत्र ज्योति सङ्घ राप्ती आँखा अस्पतालबाट सञ्चालित रुकुम आँखा सर्जिकल सेन्टर सल्ले रुकुम पश्चिमको प्राविधिक सहयोगमा आठबीसकोट नगरपालिकाले शिविर आयोजना गरेको छ । यसमा नेपाल नेत्र ज्योति सङ्घ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेतले आर्थिक सहयोग गरेको छ ।

वडा नम्बर २ को स्यालाखदी स्वास्थ्य चौकी देखि सुरु भएको शिविर आज बुधबार घेत्मा स्वास्थ्य चौकीमा पुगेर सम्पन्न भएको छ । यसबिचमा गोतामकोट र नगर अस्पताल राडीमा शिविर आयोजना भएको आँखा सर्जिकल सेन्टर सल्लेका प्रमुख धनबहादुर केसीले बताउनुभयो । शिविरमा कुल ५ सय ५३ जनाले आँखा जाँच गराएका छन् । जसमा १ सय १८ जनामा मोतीबिन्दुको समस्या देखिएको छ । यसलाई हेर्दा गाउँमा धेरै जनामा मोतीबिन्दुको समस्या रहेको बुझ्न सकिने प्रमुख केसीले बताउनुभयो ।

उहाँका अनुसार मोतीबिन्दुको समस्या भएकाहरूको कार्तिक १९ र २० गते नगर अस्पताल राडीमा निःशुल्क अप्रेसन हुने छ । शिविर अन्तर्गत स्यालाखदी स्वास्थ्य चौकी १०४ जनाको आँखा जाँच गरिएकोमा १६ जनालाई मोतीबिन्दु, गोतामकोट स्वास्थ्य चौकीमा ४९ जनाको आँखा जाँच गरिएकोमा १२ जनालाई मोतीबिन्दु, नगर अस्पताल राडीमा २ सय ९८ जनाको आँखा जाँच गरिएको मा ७१ जनालाई मोतीबिन्दु भएको पाइएकामा शिविरको अन्तिम दिन बुधवार घेत्मा स्वास्थ्य चौकीमा १ सय २ जनाको आँखा जाँच गरिएको मा १९ जनालाई मोतीबिन्दुको समस्या देखिएको आँखा सर्जिकल सेन्टर सल्लेका प्रमुख केसीले बताउनुभयो  । 

प्रतिक्रिया