सत्ता स्वार्थमा मिल्नेहरूलाई शान्ति प्रक्रिया टुंग्याउन केले रोक्यो : रवि लामिछाने

सत्ता स्वार्थमा मिल्नेहरूलाई शान्ति प्रक्रिया टुंग्याउन केले रोक्यो  : रवि लामिछाने

काठमाडौं –   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता स्वार्थको लागि मिल्न तयार हुने दलहरू पीडितलाई न्याय दिने शान्ति प्रक्रिया टुंग्याउन एकजुट नभएको भन्दै आपत्ति जनाउनुभएको छ  ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै शान्ति प्रक्रियालाई टुंग्याउन आफ्नो दलको तर्फबाट हुने सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियाको कुरा पनि चल्यो सरकार बनाउने बेलामा हिजो दुस्मन भनिएका दलहरू विनाशर्त एकठाउँमा उभिएका देखेका छौं । कोशीमा हेर्दा त महागठबन्धन बनेको छ । ए, आफ्नो सत्ता स्वार्थको लागि मिल्न सक्नुहुने । पीडितलाई न्याय दिने शान्ति प्रक्रियालाई के ले रोख्यो तपाईंहरूलाई ? कस्ले रोक्यो ? कहाँ रोक्यो ? हामी नयाँ दलले ? ल बताउनुस् । अन्तर्राष्ट्रिय मान्यताअनुसार पीडितलाई मध्यनजर राखेर टुंग्याउनमा कसैले रोकेको छैन । रोकेको छ त यहाँहरूकै नियतले ।’

उहाँले अहिले व्यवस्था भन्दा पनि आफ्ना मान्छे जोगाउन केन्द्रित भएकाले अहिलेको अवस्था आएको बताउनुभयो  ।

उहाँले भन्नुभयो, ‘यहाँ संविधान र व्यवस्थाको धेरै चिन्ता गरेको देखियो । के यो व्यवस्था र संविधान के अरु कसैको कारणले खतरामा छ कि हाम्रै चरित्र र व्यवहारको कारणले खतरामा छ ? हामीले व्यवस्था जोगाउन प्राथामिकता दिएको भए यो चिन्ता गर्नुपर्ने अवस्था आउँदैनथ्यो ।’

उहाँले थप्नुभयो, ‘ठूला भनेका दलको सिण्डिकेट लादिने यो संसदमा संकल्प प्रस्ताव कार्यसूचीमै चढ्न सकेन । बेलैमा छलफल नचलाउँदा ती प्रस्ताव अहिले असान्दर्भिक भएका छन् । यो संसदले सत्ता पक्षको बहुमतको बलमा कानून बनाउँदा जनताको राय लिने स्वभाविक प्रक्रियालाई निरुत्साहीत गरियो । कानून बनाउँदा राय लिऊँ भन्ने बहुमतको बलमा पेलिँदो रहेछ । यो संसद ठूला भनिएका तीन दलहरु बाहेकका लागि अनुदार छ ।’

प्रतिक्रिया