कैद मिनाहा निर्णय खारेजपछि रिगल नेपालगञ्जमा पक्राउ

कैद मिनाहा निर्णय खारेजपछि रिगल नेपालगञ्जमा पक्राउ
सुन्नुहोस्

काठमाण्डौ – संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका गुण्डा नाइके रिगल भनिने योगप्रसाद ढकालकाे कैद मिनाहाकाे निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएपछि बिहीबार नेपालगञ्जमा पक्राउ परेका छन् । 

सर्वाेच्चको आदेश आएको केहीबेरमै रिगललाई नेपालगञ्जको सेतु विक चोकबाट पक्राउ गरेको बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिनुभयो । सर्वोच्चको आदेशपछि रिगल मोबाइल अफ गरेर भाग्ने तयारीमा रहेका बेला उनलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

रिगललाई सरकारको सिफारिसमा गएको असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिनुभएको थियो । रिगलले विसं २०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमतीले गएको असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । अदालतको आदेश अनुसार रिगलले ११ वर्ष ११ महिना पाँच दिन कैद सजाय भुक्तान गर्नुपर्ने भएको छ ।

संविधान दिवसको अवसरमा कैद मिनाहा पाएकाे अवसरमा गुण्डा नाइके रिगललाई उनका पक्षपाेषक नेपालगञ्ज, दांग, सुर्खेत क्षेत्रका गुण्डाहरूले गाडीका लावालस्कर लिएर जयजयकार गरेकाे दृश्यले सर्वसाधारण र परिवारजनले आपत्ति जनाएका थिए । 

 

प्रतिक्रिया