मादीले हल गोरु पाल्ने कृषकलाई १० हजार रुपैयाँ अनुदान दिने

मादीले हल गोरु पाल्ने कृषकलाई  १० हजार रुपैयाँ अनुदान दिने

कास्की – मादी गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई अनुदान दिने भएको छ । गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई सहजताको लागि दश हजार रुपैयाँ अनुदान दिन लागेको हो । 

गाउँपालिकाको पशु सेवा प्राविधिक भूपेन्द्र विसीका अनुसार सो कार्यक्रमको लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाका अधिकांश स्थानीय बासिन्दाले गोरुको प्रयोगबाट खेत र बारी जोत्ने भएकाले कृषकको सहजताको लागि सो रकम वितरण गर्न लागेको बताउनुभयो । 

अनुदानको लागि गाउँपालिकाले गोरु पाल्ने कृषकको आवेदन माग गरेको उहाँले बताउनुभयो । हालसम्म ७५० जना स्थानीय बासिन्दाले आवेदन दिएको उनको भनाइ छ । ुहामीले चालु आवदेखि मात्रै यो कार्यक्रम सञ्चालनमा ल्याएका हौँ, उनले भने, पैसा नपुगे कार्यपालिका बैठकबाट थप बजेटको व्यवस्थापन गर्ने छौँ।

गाउँपालिकाले कृषिमा आधुनिकीकरणका लागि ट्याक्टरमा अनुदान दिएको बताउनुभयो । तर गाउँपालिकामा केही कृषकले मात्रै ट्याक्टर प्रयोग गर्ने उहाँको भनाइ छ । 

गाउँपालिकामा पशु पालनलाई प्रोत्साहन दिनको लागि मासु र दूधमा अनुदान कार्यक्रम सञ्चालन गरेको बताउनुभयो  । एक हजार लिटर दूध उत्पादन गर्ने कृषकलाई प्रतिलिटर १० रुपैयाँ, खसी तथा विभिन्न पशु बेच्नेलाई प्रतिगोटा ५०० रुपैयाँ प्रोत्साहन रकम वितरण गर्ने बताउनुभयो  । 

गाउँपालिकाले पशुको लागि हिउँदे घाँसको बीउ वितरण, गोठ सुधार कार्यक्रम तथा रेविजविरुद्धको खोप वितरण कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो  । गाउँपालिकामा भेडा पाल्ने कृषकको लागि भेडी गोठ प्रविधि नियन्त्रण गर्ने उहाँको दावी छ । 

उहाँका अनुसार गाउँपालिकाभित्र करिब ६० वटा व्यावसायिक पशु फार्म सञ्चालनमा रहेका छन् । यस्तै करिब ९० प्रतिशत स्थानीय बासिन्दाले निर्वाहमुखी पशुपालन गर्दै आएका छन् । 

प्रतिक्रिया