भूकम्प प्रभावितहरू खुला आकाशमुनि रात बिताए

भूकम्प प्रभावितहरू खुला आकाशमुनि रात बिताए

जाजरकोट – अघिल्लो दिन शुक्रवार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ की भावना पुनलाई मध्यरातमा आएको भूकम्पले बिउँझायो । भूकम्पले उहाँको घर धुजाधुजा पार्याे । भूकम्पपछि उहाँको परिवारका सदस्य कोही खुला आकाशमुनि रात बिताइरहेका छन् भने कोही अस्पतालमा बिरामी कुरुवा बसिरहेका छन् । 

‍कुशे गाउँपालिकाका धनबहादुर सिंह पनि भूकम्पको त्रासका कारण त्रिपाल टाँगेर बाहिरै बसेको बताउनुहुन्छ । ’घरभित्र बसीसाध्यै छैन’ उहाँले भन्नुभयो, ’परकम्प आइरहेका कारण कुन समय के हुन्छ थाहा छैन, मनभरि त्रासले बास गरेको छ ।’

यी त प्रतिनिधि पात्र मात्र हुन, भूकम्पको त्रासका कारण जाजरकोट र रुकुम पश्चिमका नागरिकहरु खुला आकाशमुनि रात बिताइरहेका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएपछि अहिलेसम्म २ सय ११ भन्दा धेरै पटक परकम्प गएको छ । भूकम्पमा परेर अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा गरी १ सय ५७ व्यक्तिको ज्यान गएको पुष्टि भएको छ ।  दुई सय जनाभन्दा धेरै जना घाइते भएका छन् । थुप्रै भौतिक संरचनामा क्षति पुगेको छ । 

जाजरकोटका पाँचवटा पालिकामा सग्ला घर देख्नै मुस्किल छ । नलगाड नगरपालिका–१ बाट ८ सम्म, भेरी–१, ३ र ४ मा प्रायजसो सबै घरमा क्षति पुगेको छ । छेडागाड, कुशे र बारेकोटमा ठूलो क्षति पुर्याएको छ । यहाँका कुनै पनि घर बस्न योग्य नै नभएको अवस्था छ । मानवीय क्षतिका हिसाबले नलगाड पहिलो नम्बरमा छ । नलगाडमा मात्रै ५२ जनाको भूकम्पबाट ज्यान गएको छ । भेरी नगरपालिकामा ४२ जनाको ज्यान गएको छ । 

छेडागाड नगरपालिकामा एक जना, जुनिचाँदेमा एक जनाको ज्यान गएको छ। गम्भीर प्रकृतिका बिरामीलाई बाहिर सुविधासम्पन्न ठाउँमा उपचारका लागि लगिएको छ भने अन्य बिरामीको पालिकामा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । एक सय ५० जनाभन्दा बढीको उपचार जारी छ । अझै केहीले उपचार पाउन सकेका छैनन् । 

छेडागाड–७ मा भूकम्पका कारण घाइते भएका एक व्यक्तिको अहिलेसम्म उद्धार हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताउनुभयो । त्यहाँ एम्बुलेन्स जान नसक्ने भएकाले समस्या भएको उहाँले बताउनुभयो ।

गाउँ–गाउँमा फोन सम्पर्क हुन नसकेका कारण अझै गाउँमा घाइतेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। पालिकाका मुकाममा रहेका घाइतेको उद्धार भइरहेको छ । अन्य गाउँमा भएका बिरामीको गाउँमै उपचार भएको पालिकाका प्रमुखहरूले बताएका छन् । भौतिकरूपमा कति क्षति भयो भन्ने कुनै यकिन तथ्याङ्क आउन सकेको छैन । मृतकको सनाखत अझै हुनसकेको छैन । अहिलेसम्म पालिकाको नाम र सङ्ख्याबाहेक अन्य कुनै विवरण आउन सकेको छैन । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले  शनिवार नै भूकम्प प्रभावित क्षेत्रको  स्थलगत अवलोकन गरी जानकारी लिनुभएको   थियो । शनिवार नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी राहत र उपचारलाई व्यवस्थित बनाउन एक टोलीसमेत निर्माण गरिएको छ । राहत दिने र सहयोग गर्नेले एकद्वार प्रणालीबाट गर्न प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको आग्रह छ । 

प्रतिक्रिया