राउटे महामुखिया महिनबहादुर शाहीको निधन

२०६३ मा मुखियाको जिम्मेवारी ऐनबहादुर शाहीलाई सुम्पेदेखि महिनबहादुरलाई सम्मानका लागि ‘महामुखिया’ भन्ने गरिएको थियो ।

राउटे महामुखिया महिनबहादुर शाहीको निधन

दैलेख –  फिरन्ते जीवन बिताउदै आएका राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको ६९ वर्षको उमेर आइतबार निधन भएको छ । दैलेखको भैरबी गाउँपालिका–३ रतुवाखोलामा उहाँको निधन भएको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर केसीले जानकारी दिनुभयो । 

कोइराला गाउँबाट रतुवाखोलामा बसाई सरेको पाँचौं दिन आइतबार महामुखिया निधन भएपछि मुखिया सूर्यनारायण शाहीको टोली बस्ती सार्ने नयाँ ठाउँको प्रवन्ध गरी राउटे समुदायका सबैजसो मृतक महिनबहादुरको शव गाड्ने काममा जुटेका जोडी शिक्षक केसीले बताउनुभयो । 

स्वास्थ्य अवस्था कमजोर भएपछि २०६३ देखि मुखियाको जिम्मेवारी ऐनबहादुर शाहीलाई सुम्पेदेखि महिनबहादुर शाहीलाई सम्मानका लागि ‘महामुखिया’ भन्ने गरिएको थियो । २०७१ मा ऐनबहादुर शाही डुंगेश्वरमा भीरबाट खसेर ज्यान गएपछि अहिले सूर्यनारायण शाहीले मुखियाको जिम्मेवारीमा हुनुहुन्छ । 

अहिले ५६ वर्ष उमेर पुगेकी दुनी शाहीसंगको महामुखिया महिनबहादुरको बैवाहिक सम्वन्ध ४२ वर्ष भयो । उहाँहरुका १५ छोराछोरी जन्मँदै मर्दै गरेका ७ वर्ष अघि कान्छी छोरी, ४ वर्ष अघि कान्छो भन्दा माथिको शिवनारायण मृत्यू भएको थियो ।  

अब सम्झनामा मात्र : राउटे समुदायका महामुखिया महिनबहादुर शाही

कान्छो छोरा नारायण शाही अघिल्लो वर्ष सुतेको बेला ओछ्यानमा लागेको आगोले पोलिएर एक महिना लामो उपचार अवधिमा ज्यान गएको थियो । १८ जना सन्तान जन्मेका मध्ये सबैको मृत्यू भएको पीरले महामुखिया महिनबहादुर चिन्तित हुनुहुन्थ्यो । उहाँ तीन महिनादेखि बिरामी पर्नुभएको थियो ।  

सामाजिक सुरक्षा भत्ता वितरणमा सहजताका लागि दैलेखको गुराँस गाउँपालिका ८ नं. वडाका बासिन्दाका रुपमा ५ वर्ष अघि सबैलाई परिचयपत्र बितरण गरिए पनि २–३ महिनामा बसाई सर्ने राउटे समुदाय दैलेख, सुर्खेत, जाजरकोट, सल्यानसम्म २–३ घण्टाको पैदल दूरीमा बस्ती गर्ने गर्दछन् । 

राउटे समुदायले आफ्ना कोही सदस्यको मृत्यू भएमा पहिले सर्ने ठाउँको प्रवन्ध गरी मृतकको शव गाड्ने गर्दछन् । आफ्ना सदस्य गाडेको ठाउँमा फर्केर कुनै बेला पनि बस्ती नसार्ने परम्परा छ । फिरन्ते जीवन बिताइरहेको राउटे समुदाय नेपालका एक मात्र यस्तो विशेषताको समुदाय हो । 

बस्ती सार्ने, चाडपर्व मान्ने, सिकार गर्ने, बस्ती छोडेर कहिँकतै जान पर्दा मुखियाको अनुमति चाहिन्छ । खेतीपाती गर्ने, बस्ती बस्ने, पैंसा चलाउन, पढ्ने लेख्ने काम गर्नुहुदैन भन्ने पुरातन मान्यता भएका राउटे समुदायले चोट पटक लाग्दा औषधि गर्ने गरेका, किनेर खान सजिलोको लागि भनेर सामाजिक सुरक्षा भत्ता लिन स्वीकार गरे पनि बस्ती बस्न र खेतीपाती गर्न इन्कार गरेका छन् । 

राउटे समुदायको जीवनस्तर सुधार गर्न, बालबालिकालाई पढाइलेखाईमा प्रेरित गर्न, स्वास्थ्य शिक्षा र सामाजिकीकरणको पहल गर्न सोसेक नेपालले राउटे परियोजना सञ्चालन गरिरहेको छ । राउटे समुदायसंगै बस्तै सर्दै हिंड्ने गरी परियोजनामा दुई महिला समेत चार जना कर्मचारी परिचालन गरेको छ । 

पहिले काठपाते, जडीबुटीको भरमा उपचार गर्ने पद्धति राउटे परियोजना र सहजकर्ताहरुको लामो प्रयासपछि सामान्य विरामी पर्दा वा चोट पटक लाग्दा राउटे परियोजनामा कार्यरत स्वास्थ्यकर्मीकको सम्पर्कमा पुग्ने गरेका छन् । सोसेक नेपालले राउटे महिलाको स्वास्थ्य उपचारमा सहयोग पु¥याउन महिला स्वास्थ्यकर्मी र पुरुषहरुलाई जाँच्न वा औषधि गर्नुपर्दा पुरुष स्वास्थ्यकर्मीले सहयोग पु¥याइरहनुभएको छ । 

राउटे परियोजनाकै सहयोगमा गुराँस गाउँपालिकाले दुई महिना लगाएर २०७५ असार ३० गते राउटे समुदायका त्यसबेला गुराँस गाउँपालिका–८ पातलेखोला बस्तीमै पुगेर एक सय ४९ जना सबैका फोटो सहितको परिचयपत्र दिएको थियो । महामुखियाको निधनपछि अहिले राउटे समुदायको जनसंख्या एक सय ४१ जनामा झरेको छ । 
 

प्रतिक्रिया