बालक्लले चलाएको आचारसहिँता अभियान

बालक्लले चलाएको आचारसहिँता अभियान

दैलेख - महावु गाउँपालिका, वडा नं. १ खरीगैराको हरेक घरको भित्ता भित्तामा पूर्ण सरसफाइ सम्बन्धी आचार संहिता टाँसिएको छ । आचार संहितामा लेखिएको छ ‘फोहोर खाडलमा मात्र व्यवस्थापन गर्ने, चर्पीको नियमित सरसफाइ गरौं, घरआँगन सधैं सफा राखौं, विद्यालय बाटो सफा राखौं यस्तै यस्तै । 

गाउँघरमा पूर्ण सरसफाइ सम्बन्धी आचारसंहिता टोल स्तरीय बाल स्वच्छता क्लबले टाँसेको हो । समुदायलाई पूर्ण सरसफाइ सम्बन्धी मापदण्डको पालना गराउन बालक्लवले यस्तो जुक्ति निकालेको खरीगैरा बाल स्वच्छता क्लवकी अध्यक्ष स्मृति बोगटीले बताउनुभयो । ‘विद्यालयमा आचारसंहिता बनाएर टाँस गरेका छौं, समुदायको घरघरमा पनि आचारसंहिता टाँसेर आफ्ना आमा बुबालाई पालना गर्नका लागि आग्रह गर्दै आएका छौं’ उहाँले प्रष्ट्याउनुभभयो ।

बाल स्वच्छता क्लवका सदस्यहरुले पूर्ण सरसफाइ सम्बन्धी आचारसंहिता मात्र टाँसेका होइनन्, ती आचार संहिताको पालना भए नभएको घरदैलो पनि गर्छन् । हरेक घरमा निर्माण भएको धारा र जुठेल्नाको समुचित प्रयोग, फोहोर व्यवस्थापन गर्ने तरिका, सुरक्षित खानेपानीको महत्व र पानी शुद्धिकरण गर्ने तरिकाबारे सन्देश फैलाउन बेला बेलामा घरदैलो कार्यक्रम गर्ने गरेको जयन्ती माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत भावना सुनारले सुनाउनुभयो ।    

बाटोघाटोमा हिड्ने, घरमा आउने आउने पाहुना, पसलमा किनमेल गर्न जाने ग्राहकले समेत भित्तामा टाँसेको आचार संहिता पढेर सरसफाइ सम्बन्धी धेरै कुरा सिक्न सकिने उहाँले बताउनुभयो । पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलापहरु विद्यार्थी मार्फत सञ्चालन गर्दा दिगो हुने र उनीहरु मार्फत घरका सदस्य र समुदायसम्म विस्तार गर्न प्रभावकारी हुने भएकाले हेल्भेटास नेपाल, एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम, महावु गाउँपालिका र सोसेक नेपालको साझेदारीमा बाल स्वच्छता क्लव गठन गरी परिचालन गरिएको सोसेक नेपालकी सामुदायिक सहजकर्ता निर्मला नेपालीले बताउनुभयो ।

‘पूर्ण सरसफाइ सम्बन्धीका क्रियाकलापहरु एक बालबालिकाबाट अर्को बालबालिकासम्म फैलाउने सजिलो हुने र आफ्ना बालबालिकाले भनेको कुरा अभिभावकहरुले छिटो कार्यान्वयन गर्ने र दिगो समेत हुने भएकाले बालबालिकालाई रचनात्मक तरिकाले परिचालन गरिएको हो’ उहाँले भन्नुभयो ।

बाल स्वच्छता क्लवमा विभिन्न विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरु सदस्य हुन्छन् । खरीगैरा टोल, बाल स्वच्छता क्लवमा १५ जना सदस्यहरु छन् । पूर्ण सरसफाइका सूचकहरु हासिल गर्न विद्यार्थीलाई रचनात्मक तरिकाले परिचालन गर्ने यो नौलो विधि हो । खानेपानी, सरसफाइ र स्वच्छतामा सरकारले राखेको लक्ष्य प्राप्तिको लागि, यो विधि सहयोगी सिद्ध हुने हेल्भेटास नेपालका क्षमता विकास विज्ञ निलकण्ठ पाण्डेको विश्वास छ ।

क्षमता विकास विज्ञ पाण्डेले भन्नुभयो ‘अभिभावक, समुदाय र स्वयं आफूलाई पनि प्रेरित गर्नका लागि बालबालिकाहरुले अबलम्बन गरेको यो विधि प्रशंसनीय छ । आचारसंहितामा पूर्ण सरसफाइका सूचकहरु पूरा गर्नका लागि नगरी नहुने क्रियाकलापहरु समेटिएको छ ।’

समुदाय परिवार, विद्यार्थी र आगन्तुकहरुलाई सजग गराउने र पूर्ण सरसफाइका सूचकहरु पूरा गर्नका लागि प्रतिबद्ध बनाएको पाईएको उहाँले बताउनुभयो । ‘यो विधि भर्खर सुरुवात गरिएको हो । पूर्ण सरसफाइ प्राप्तिका लागि यो विधि प्रभावकारी हुनेछ भन्नेमा म विश्वस्त छु’ उहाँले भन्नुभयो ।

बाल स्वच्छता क्लवका बालबालिकाहरुलाई पूर्ण सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रममा सहभागी गराई क्षमता अभिवृद्धिको काममा हेल्भेटासले सघाएको छ । यसबाट पाठ्यपुस्तक भन्दा बाहिरी ज्ञान आर्जन गर्न मद्दत पुगेको विद्यार्थीहरु बताउँछन् । पाठ्यपुस्तकमा पूर्ण सरसफाइ सम्बन्धी पढ्न नपाए पनि हेल्भेटास नेपालले सञ्चालन गरेका क्रियाकलापहरुमा सहभागी हुँदा पूर्ण सरसफाइ भनेको के हो ? यसको महत्व, विद्यार्थीले गर्न सकिने काम लगायतका बारेमा ज्ञान हासिल भएको श्री जयन्ती माध्यमिक विद्यालय, खरीगैराकी छात्रा स्मृति सुनामले बताउनुभयो ।

यहाँ सञ्चालित खानेपानी योजनाबाट लाभान्वित समुदायलाई पूर्ण सरसफाइ उन्मुख बनाउने हेल्भेटास एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमको नीति अनुरुप टुनिगैरा खानेपानी तथा सरसफाइ योजनाको सेवा क्षेत्रभित्रका २ सय २० घरधुरीमा पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

बाल स्वच्छता क्लवको माध्यमबाट विद्यार्थीहरुलाई पूर्ण सरसफाइ सम्बन्धी अभियानमा सरिक गराउँदा विद्यालयमा समेत सकारात्मक नतिजाहरु देखिएका छन् । बाल स्वच्छता क्लवले फोहोरमैला व्यवस्थापन, फिल्टरको प्रयोग लगायत बिषयमा कक्षा कक्षामा अभियान चलाएकाले साना कक्षाका बालबालिकाले समेत यसबारे बुझेको श्री जयन्ती माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद भट्टराईले बताउनुभयो ।

विद्यालय स्तरीय खानेपानी, सरसफाइ र स्वच्छता समितिको परिचालन नौलो नभए पनि टोल स्तरमा बाल स्वच्छता क्लव गठन गरी पूर्ण सरसफाइ अभियानमा सरिक गराउने अभियान भने नौलो हो ।

यो अभियानले व्यक्ति, घरपरिवार, विद्यालय र समाजलाई समेत पूर्ण सरसफाइ अभियानको बाटोमा डो¥याएको छ । बाल स्वच्छता क्लव मार्फत गरिने यो अभियान समुदायका अभिभावकहरुका लागि समेत प्रेरणादायी बनेको छ । 

प्रतिक्रिया