विपद पूर्वतयारीमा सबैको सहयोग आवश्यक : प्रजिअ

विपद पूर्वतयारीमा सबैको सहयोग आवश्यक : प्रजिअ

दैलेख – प्रमुख जिल्ला अधिकारी खिमराज भूसालले जिल्लाको विपद पूर्वतयारी कार्यायोजना बनाउन र कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । हिजोदेखि मात्र दैलेखको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्नुभएका भूसालले जिल्ला स्तरीय विपद व्यवस्थापन समितिको बैठक आज उहाँले सो सहयोगको अपेक्षा दर्शाउनुभएको हो । 

जाजरकोटमा गत हप्ता गएको भूकम्पले दैलेखमा पारेको भौतिक सम्पतिको नोक्सानी, पुनरनिर्माण तथा प्रभावितहरुलाई राहतको सवालमा स्थानीय सरकारहरुले आफैले प्रयत्न गर्ने, प्रदेश सरकार र संघीय सरकारसंग सहयोग लिने विषयमा जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल र मिडिया क्षेत्रको अझ बढी सहयोग चाहिएको उहाँले प्रष्ट्याउनुभयो । 

जिल्ला स्तरीय विपद व्यवस्थापन समितिको बैठक प्रतिनिधिसभा सदस्यहरु अम्मरबहादुर थापा, सूर्यकुमारी श्रेष्ठ, कर्णाली प्रदेशसभाका सदस्य पूर्णबहादुर खत्री लगायत राजनीतिक दलका प्रनिनिधि, स्थानीय पालिकाका प्रमुखहरु, नेपाल रेडक्रस सोसाइटी, दैलेख उद्योग बाणिज्य संघ लगायतका नागरिक समाज संस्थाहरुको सहभागिता थियो ।

सहभागीहरुले विपद पूर्वतयारी, जाजरकोटमा गएको भूकम्पको असरले पालिकाहरुमा पुगेका क्षति र प्रभावितहरुलाई राहत सहयोगका लागि तथ्यांक संकलन, यसको पुनर परीक्षण, तिहारको बेला पटका पड्काउने र देउसीभैलोको समय पालनासंगै सुरक्षा सजगता विषयमा छलफल भएको थियो ।
 

प्रतिक्रिया