चिसोका कारण २ जना भूकम्पपीडितको मृत्यु

चिसोका कारण २ जना भूकम्पपीडितको मृत्यु

जाजरकोट –  भूकम्प प्रभावित क्षेत्रमा सरकारी व्यवस्थापनको कमिका कारण दुईजनाले ज्यान गुमाएका छन् । उनीहरू दुबैको अत्यधिक चिसोका कारण मृत्यु भएको हो । शुक्रबार नलगाड नगरपालिका–४ लहँस्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र बिहीबार राति सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो ।

गोपालबहादुर दमका बिरामी थिए भने पम्फाको निमोनियाका कारण मृत्यु भएको वडाध्यक्ष बद्री पन्तले बताए। ‘लहँ यसै पनि असोजबाटै तुसारो पर्ने चिसो बस्ती हो,’ उहाँले भन्नुभयो, ‘त्यसमा पनि एकसरो लुगाको भरमा त्रिपालमा रात काट्नुपर्दा वयोवृद्ध गोपालबहादुरको ज्यान गएको हो ।’ उहाँका अनुसार लहँ गाउँ समुद्र सतहदेखि झन्डै १५ सय मिटर उचाइमा पर्छ ।

मृतकका आफन्तसमेत रहेका स्थानीय अगुवा प्रेमबहादुर रावलका अनुसार दमका दीर्घरोगी गोपालबहादुरका चार छोरा नै मजदुरीका लागि भारत छन् । जेठा महेन्द्रको भने ६ वर्षदेखि अत्तोपत्तो छैन ।

माओवादीकी स्थानीय नेतृसमेत रहेकी पम्फा भूकम्पले घर भत्केपछि पार्टीकै निर्देशनमा राहत तथा उद्धारमा खटिरहेकी थिइन् । ‘भोकभोकै दिनभरिको धपेडी र रातभरिको चिसोले निमोनिया भएछ,’ वडाध्यक्ष पन्तले भन्नुभयो, ‘ज्वरो आएको दोस्रो दिनमै उहाँको निधन भयो ।’ उहाँका अनुसार रावलको परिवारलाई वडा कार्यालयमार्फत मंगलबार र बुधबार त्रिपाल दिइएको थियो । चिसोका कारण निमोनिया भएकी उनको दल्लीस्थित नगर अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया