विभिन्न जिल्लाबाट पैसठ्ठी जना जुवाडे पक्राउ

विभिन्न जिल्लाबाट पैसठ्ठी जना जुवाडे पक्राउ

काठमाडौं – प्रहरीले सुर्खेत, अछाम र उदयपुर लगायतका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ६५ जना पक्राउ गरेको । 

काठमाडौंको नागार्जुन नगरपालिका–३ एकधारा बस्ने केशव अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४० वर्षीय श्याम बाबु तामाङ समेत २२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ९२ हजार ५ सय ५० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो । 

यसैगरी सुर्खेतको चौकुने गाउँपालिका–६ जुम्ल्याहामुल बस्ने ३२ वर्षीय दिपेन्द्र कुमार बिसिको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपेन्द्र समेत २७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गुटु र ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २८ हजार ७ सय ९२ रूपैयाँ, ३८ गड्डी तास र मोबाइल २३ थानसहित पक्राउ गरेको हो । 

यस्तै अछाम प्रहरीले मंगलसेन नगरपालिका–९ वलीगाउँ बस्ने कमल रावलको घरमा जुवातास खेलिरहेको अवस्थामा रावल समेत ७ जनालाई गएराति पक्राउ गरेको छ ।

प्रहरी चौकी मंगलसेन र जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उदयपुर, चौदण्डीगढी नगरपालिका–७ कल्याण चोकस्थित खाली घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय वयान राई समेत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ३ सय ५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । 

यसैगरी उदयपुर, चौदण्डीगढी नगरपालिका–५ सिवाई बजारमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय अजित कार्की समेत ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ६० रूपैयाँ र १६ पिस कौडासहित पक्राउ गरेको हो । 

पक्राउ परेका सबैलाई हिरासतमा राखी सम्वन्धित प्रहरी इकाईले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधानका कार्यालयले जनाएकाे छ । 

प्रतिक्रिया