भाइटीकाको शुभसाइत १० बजेर ५१ मीनेटमा

भाइटीकाको शुभसाइत १० बजेर ५१ मीनेटमा

यमपञ्चकको आज पाँचौं तथा अन्तिम दिन भाइटीका । यो वर्षको भाइटीका शुभसाइत विहान १० बजेर ५१ मीनेटमा रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । साइत खोज्नेहरुका लागि शुभसाइत दिइए पनि विहानैदेखि लगाउन सकिने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

सप्तरङ्गी टीकाहरू, कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सेल रोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरिवल, छोकडा, मिठाई , मरमसला लगायतका खानेकुराहरूसहित आज दिदीबहिनीले दाजुभाइको पूजा गर्ने चलन छ ।

दिदी–बहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरू दिएर दसैँ पश्चात् दाजुभाइलाई भाइटिकाको निम्तो दिने चलन छ । यसरी निम्तो पाएका दाजुभाइहरू आज दिदीवहिनीसंग टिका लगाउँदछन् । 

भाइटीकाको परम्परा 
दाजुलाई लिन आएको यमराजसंग बहिनीले टिका टालो नसकुन्जेलसम्म पर्खिन भनेकी त्यो क्रममा यमराजलाई पनि सँगै राखेर टिका टालो अनि श्रद्धापूर्वक पूजा र सम्मानबाट खुशी भएर दाजुलाई नलिई यमराज फर्र्किएको भन्ने जनश्रुती छ । 

यमराज खुशी भएर चेलीलाई के वरदान माग्छ्यौ ? भनी सोध्दा मेरा दाजुलाई नलग्नु भनेर वरदान मागेकी अनुसार दाजुलाई बचाएको अर्थात् चेलीको मायाले दाजुभाइको मृत्यु समेत टर्दछ भन्ने जनविश्वाससंग भाइटीकाको प्रचलन चल्दै आएको छ । 

यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौँ दिन टिका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजुलाई यसै गरी टिका लगाउन र पुज्न पाउ भन्ने कुरा मागेकाले भाइटिकाको चलन चलिआएको किम्बदन्ती रहेको छ ।

टिका लगाउनु पूर्व दिदीबहिनीले दाजुभाइलाई विशेष पूजा गर्न कालागि भूँईमा चकटी ओछ्याएर बसेको ठाउँ वरिपरि कलशमा तेल–पानी राखेर हरियो दुवोबाट पातलो धारा बगाउँदै पाँच पटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । 

अक्षता, फूल, चन्दन, धानलाई भुटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिसेष गर्दै पूजा गर्दछन् । यमराजको प्रतीक मानेर बिमिरा (एक प्रकारको ठुलो कागती प्रजातिको फल) को पूजा गरिसकेपछि, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फुटाइ ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । 

कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजुभाइको आरोग्य अनि दिर्घायूको कामना गर्ने चलन छ । भाइटीकालाई भाइबहिनीको पर्व भन्ने गरिन्छ । 

दाजुभाइहरुले विवाहित दिदीबहिनीको घरमा पुगी टीका लगाउने र कतिपय बेला धेरै दिदीबहिनी र दाजुभाइ भए एकै ठाउँ भेला हुन सजिलोको लागि विवाहिता दिदीबहिनीहरु माइतीमा पुगेर पनि भाइटीका लगाउने गर्छन् । 

प्रतिक्रिया