नौमूलेका भूकम्प पीडितलाई राहत वितरण

नौमूलेका भूकम्प पीडितलाई राहत वितरण
सुन्नुहोस्

दैलेख – कात्तिक १७ गते राति गएको भूकम्पमा घर भत्किएका र चर्किएका नौमूले गाउँपालिका क्षेत्रका ८० घरलाई डीसीएकाे सहयाेगमा सोसेक नेपालले राहत सामग्री वितरण गरेको छ । बढी क्षति भएका ८० घरलाई त्रिपाल र पीफम वितरण गरिएको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले जानकारी दिनुभयो । 

भूकम्पले नौमूले गाउँपालिका करिब ७ सय भन्दा बढी घरहरु भत्किएका र चर्किएका मध्ये बढी क्षति भएका स्थानीयहरुलाई नौमूले गाउँपालिकाका अनुरोधमा राहत सामग्री दिइएको र संस्थाको श्रोत अनुसार थप सहयोग पनि गर्ने कार्यकारी निर्देशक थापाले बताउनुभयो । 

त्रिपाल लिने आउनुभएकी नौमूले गाउँपालिका–४ कालिकाका हर्के बस्नेतले भन्नुभयो, भूकम्पका पराकम्पनले तर्साइरहेको छ । ‘अहिले त्रिपाल पायौं अस्थायी बास चल्ला तर सधैंलाई यसैले हुन्न घर बनाउन पनि सरकारले हेर्नुपर्छ’ नौमूले गाउँपालिका–३ द्वारीकी नरी फौजाली मगरले भन्नुभयो । 

भूकम्पको केन्द्र बिन्दू जाजरकोटको रामीडाँडाबाट नजिक परेको कारण दैलेखका अरु पालिकाहरुको तुलनामा नौमूलेमा बढी क्षति पुगेको छ । इपिसेण्टरको नजिक र ढुंगा माटोले बनाएका पुराना १२ वटा घर भत्किएका र सात सय भन्दा बढी चर्किएका नौमूले गाउँपालिकाका अध्यक्ष छबिराम सुबेदीले जानकारी दिनुभयो । 

प्रारम्भिक विवरण प्राप्त भए अनुसार प्राविधिकहरु खटाई लागत र थप विवरण ल्याउने त्यसका आधारमा अस्थायी बासको प्रवन्ध तथा पुनरनिर्माणको योजना तयार गर्ने र सहयोगका लागि सरकारी र गैरसरकारी क्षेत्रसंग पहल गर्ने नौमूले गाउँपालिकाको कार्यपालिका बैठक निर्णय गरेको अध्यक्ष सुबेदीले बताउनुभयो ।  

भूकम्पको इपिसेण्टरदेखि नजिकको नौमूले गाउँपालिकामा अलि बढी देखिए पनि सिमाना जोडिएका भगवतीमाई, गुराँस गाउँपालिका अनि सिमाना नजोडिएका नारायण, दुल्लू र चामुण्डाबिन्द्रासैनी नगरपालिका लगायत जिल्लाभर झण्डैं तीन हजार घरहरु बस्न नमिल्ने गरी चर्केका भनी विवरण प्राप्त भएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भूसालले बताउनुभयो । 

मानवीय क्षति नभए पनि कात्तिक १७ गते रातिको उक्त भूकम्पले निजी घरहरु, विद्यालय लगायतका सरकारी संरचनाहरु धेरै क्षति पुगेकोले पुनरनिर्माणको चरणमा दैलेखमा पनि सहयोग गर्न राजनीतिक दलहरु समेत सहभागी विपद व्यवस्थापन समितिबाट निर्णय लेखी नेपाल सरकार र कर्णाली प्रदेश सरकारलाई अनुरोध गरी पठाइएको प्रमुख जिल्ला अधिकारी भूसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया