कारागारमा भाइटीका ः पारिवारिक अपनत्व

कारागारमा भाइटीका ः पारिवारिक अपनत्व

दैलेख – खोटाङ्गको जिल्ला सदरमुकाम दिक्तेल नपा–११ खार्मी विवाह भएकी रुपा राई (३२) दैलेख कारागारका कैदी राजु नेपाली (३०)लाई भाइटीका लगाउन कारागारमै पुग्नुभयो । नारायण नपा–१ रातामाटेका राजु कर्तव्यज्यान मुद्दामा २० वर्षे कैदमा ७ वर्ष भोगिरहेका कारण भाइटीका लगाउन त्यहाँ पुग्नुभएको हो । 

दुल्लू नपा–९ पादुकाका तेजबहादुर रोकाय (३१) जबरजस्ती करणी उद्योग मुद्दाको पुर्पक्षका लागि थुनामा हुनुहुन्छ, उहाँकी दिदी तारा भण्डारी (४१) र बहिनी माया भण्डारी (२२) पनि भाइटीका लगाउन पादुकाबाट विहान आउनुभयो । 

नारायण नपा–११ बिन्ध्यवासिनीका हरिबहादुर बिक (२५) जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैदको चार वर्षदेखि भुक्तान गरिरहनुभएको छ । हरिबहादुरका अंकलकी छोरीहरु अस्मिता बिक (१५) र बिष्णा बिक (१४)ले पनि कारागारमै पुगेर भाइटीका र पानपिन गनुभयो । 

दुल्लू नपा–२ नाउलकटुवालका खगेन्द्रबहादुर थापा पनि दुई वर्षदेखि जबरजस्ती करणीको ७ वर्षे कैदको क्रममा दैलेख कारागारमै हुनुहुन्छ, उहाँका विवाहिता दुई दिदीबहिनीहरु रुपकला खड्का (३५) र सिर्जना खड्का (३१)ले पनि त्यहीँ भाइटीका लगाइदिनुभयो ।  

दैलेखका कागारागमा पुरुष बन्दगृह तिरका एक सय २९ बन्दीगृहमा जस्तै अहिले १२ जना महिला कैदीबन्दी राखिएको महाबु गापा–१ खरिगैराकी कल्पना नेपाली (३०)संग टीका थापा उहाँकी दुइटी नन्दहरु पुतली (१८) र पातली बिक (१४) भाउजुको हातको टीका थाप्नुभयो । 

दाजु पदम नेपाली भारत प्रवासमा भएको कारण दाजु सट्टा भाउजु कल्पनासंग भाइटीका लगाउनुभएको हो । कतव्यज्यान मुद्दाको २० वर्षे कैदका पाँच वर्ष कल्पनाले दैलेख कारागारमा बिताउनुभएको छ, कर्तव्यज्यान मुद्दाकै २० वर्षे कैदको अढाई वर्ष भुक्तान गरिसकेकी गुराँस गापा–२ खड्कवाडाकी हरिकला रावल (२५)लाई पनि दाजुहरुले कारागारमै पुगेर भाइटीका थाप्नुभयो । 

कारागारमा पुरुष र महिला कैदीबन्दीहरुको बसाई अलग–अलग भए जस्तै टीका थाप्ने ठाउँको कलस, फूलपत्रले सजाइएको थियो । दाजुभाईलाई दिदीबहिनीले लिएको र दिदीबहिनीहरुका लागि घरबाट दाईभाईले लिएर गएको चेकजाँच प्रक्रिया पूरा गरेका तिहारका खानपिन परिकारसंगै बसेर खाएको दृश्य नितान्त पारिवारिक देखिन्थ्यो । 

कैदीबन्दीहरुका लागि कारागारमा गरिए जस्तै जिल्ला प्रहरी कार्यालय दैलेखमा पनि हिरासतमा थुनुवाहरुका लागि भाइटीका लगाउन चटाई कम्बल बिच्छ्याएको आसन, कलस, दिगो बालिएको थियो । दिदीबहिनीहरुले ल्याएको खानेकुरा र प्रसादीहरु त्यहाँ राखेर घरमै जसरी टिका लगाई दिने व्यवस्था थियो । 

दिदीबहिनी वा दाजुभाईहरु कारागारमा हासिखुशी नै देखिन्थे तर प्रहरी हिरासतमा भाइटीका लगाइदिने दिदीबहिनीहरु टीका लगाइदिंदा, माला पहि¥याउदा, भाइपूजाका प्रसादी दिंदादेखि दाजुभाईबाट उपहार तथा दान पाउदा पूरै अवधि रोइरहेका देखिन्थे ।

कारागारमा लामोसमय भइसकेको सामान्य भइसकेको तर फौजदारी मुद्दा दाजुभाई थुनिएका ताजा घटना भएकोले उनीहरु बढी पींडा बोध गरेको हुनुपर्छ अधिकारकर्मी हीरासिंह थापाले टिप्पणी गर्नुभयो । 

काराबास जीवन बिताइरहेकाहरुलाई पारिवारिक सम्पर्क र सम्वन्ध बनाउनुसंगै धार्मिक तथा साँस्कृतिक क्रियाकलापहरुले कैदीबन्दीहरुमा सकारात्मक भावना विकास हुने भएकोले यस्ता पर्वहरुमा कारागार प्रशासनले भाइटीकाको प्रवन्ध गरिदिएको जेलर जीतबहादुर खत्रीले बताउनुभयो । यो पटक ५७ जना कैदीबन्दीका ९१ जना दाजुभाई तथा दिदीबहिनीहरुले टीका लगाएको उहाँले जानकारी दिनुभयो । 

कारागारमा मात्र होइन फौजदारी मुद्दाको अनुसन्धानको प्रहरी हिरासतमा भएका ११ पुरुष र दुई महिला समेत १३ जनाका दाजुभाई तथा दिदीबहिनीहरुले भाइटीका लगाएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो । 

प्रहरी हिरासत र कारागार रहेका बन्दीहरुलाई सामाजिक भावना विकास गराउन, आफ्नो आपराधिक कर्मको पश्चाताप र पारिवारिक सम्वन्ध सामीप्यता राख्ने सहयोगका लागि चाडपर्वहरुमा भेटघाटलाई बढावा दिएको उहाँले बताउनुभयो । 

आफन्त नआएकाहरुले चाहिँ टेलिफोन गरेर परिवारजनसंग तिहारको चहलपहल घरमा भएका परिवारजनसंग भलाकुसारी गरेको देखिन्थ्यो । बहुविवाहको मुद्दामा अदालतले तोकेको एक लाख धरौटी तिर्न नसकेर काराबास बस्नु परेकी खजुरा सुजी (१९) दाजु तिलकलाई भाइटीका लगाउन नआएको दुखेसो पोख्दा आँसु टलपलाएका थिए ।

निश्चित सुरक्षा चेकजाँच गरी घरमा पाकेको खानेकुराहरु खान पाउने प्रवन्ध गरिएको कुरालाई कैदीबन्दीहरुले घरका परिवारसंग बसेर खाएको जस्तो महसुस भएको दैलेख प्रहरीको हिरासतमा रहेका बिजयकुमार बस्नेतले सुनाउनुभयो । 
 

प्रतिक्रिया