कर्णालीमा कर्णालीकै कच्चा पदार्थमा आधारित उद्योगहरु छैनन् : मुख्यमन्त्री शर्मा

कर्णालीमा कर्णालीकै कच्चा पदार्थमा आधारित उद्योगहरु छैनन् : मुख्यमन्त्री शर्मा

सुर्खेत –  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा अझै पनि कर्णालीकै कच्चा पदार्थमा आधारित उद्योगहरु नभएको बताउनुभएको छ । उहाँले अब कर्णालीकै कच्चापदार्थमा आधारित उद्योग सञ्चालन गर्नतर्फ अग्रसर हुन सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । 

नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा  मुख्यमन्त्री शर्माले विगतदेखि नै कर्णालीमा नुनदेखि सुन फलाउने सामन्तवादी सोच कृषि क्षेत्रमा हाबी हुँदै गइरहेको हुँदा कर्णालीमा कृषिजन्य उद्योग नफस्टाएको बताउनुभयो ।

“अब कर्णालीका नागरिकले नुनदेखि सुन एक्लैले फलाउने नभई कसैले कोदोको, कसैले मकैको अर्थात् हरेकले अलगअलग खेती गरेर कृषिमा व्यावसायिकीकरण गर्न आवश्यक छ । कृषि मात्रै होइन, अब सबै व्यवसाय गर्दा अलगअलग व्यवसाय गर्न जरुरी छ नभए व्यवसाय नै डुब्ने, असफल हुने सम्भावना हुन्छ,” मुख्यमन्त्री शर्माले भन्नुभयो, “त्यसका लागि उत्पादनको वर्गीकरण गर्न भौगोलिक कलष्टर छुट्याउने योजना सरकारको छ । उच्च हिमाली, हिमाली, पहाडी, खोँच आदि कलष्टर छुट्याएर अघि बढ्ने र सोही आधारमा कृषि उत्पादन गर्न सकेको खण्डमा हामी आत्मनिर्भरतातर्फ अग्रसर हुन्छौँ ।”

मुख्यमन्त्री शर्माले अहिले कर्णालीमा सञ्चालनमा रहेका अधिकांश उद्योगहरुले बाहिरबाट कच्चापदार्थ ल्याई उद्योग सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले कसरी औद्योगिक क्षेत्र सञ्चालन गर्ने बारेमा खाका कोर्न व्यवसायीलाई सुझाव दिँदै कर्णालीमा औद्योगिक विकासका लागि कोही पनि एक्लाएक्लै अगाडि बढेर सम्भव नभएको र त्यसका लागि सरकारले के गर्नुपर्छ हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

“हामी गुणस्तरको सामान उत्पादन गर्न सक्छौँ, निरन्तर बजारमा आफ्नो उत्पादनलाई अब्बल साबित गर्न सक्छौँ कि सक्दैनौँ त्यो बुझे बिना नै जब काम गर्छौँ, तब हामीलाई समस्या आइपर्छ । तसर्थ सबै कुराको अध्ययन नगरी काम थाल्दा नोक्सान बाहेक केही हुँदैन,” मुख्यमन्त्री शर्माले भन्नुभयो । उहाँले उद्योगीलाई गुणस्तरीय सामान उत्पादन गर्न सुझावसमेत दिनुभयो ।

प्रतिक्रिया