मैनबत्ति बालेर १६ दिने अभियान सुरुवात

मैनबत्ति बालेर १६ दिने अभियान सुरुवात
सुन्नुहोस्

दैलेख - लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको आज पहिलो दिन दैलेख सदरमुकाम र दुल्लूमा मैनवत्ति बालेर अभियानको सुरू गरिएको छ । 'लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालिकामा लगानीको एक्यबद्धता' नाराका साथ सुरु भएको अभियान मंसिर २४ गते विश्व मानव अधिकार दिवसको दिन समापन हुनेछ । 

शनिबार दैलेख सदरमुकामको देवकोटाचोकमा जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही र दुल्लूमा दुल्लू नगरपालिकाका मेयर भरतप्रसाद रिजालको उपस्थितिमा मैनवत्ति बालिएको कार्यक्रममा सरकारी अधिकारीहरु र नागरिक समाजका अगुवाहरुको व्यापक उपस्थिति रहेको महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सबिना बिकले जानकारी दिनुभयो ।

दैलेख सदरमुकामको कार्यक्रममा जिल्ला समन्यवय समिति दैलेखका प्रमुख शाही, नारायण नगरपालिकाका उपप्रमुख तप्ता थापा, दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भूसाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख(डिसपी) किशोर लम्साल लगायतका अधिकारीहरुको सहभागिता रहेको थियो ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका महिला हिंसा बिरुद्ध आन्दोलन गरेको आरामा तत्कालीन त्रुजिलो तानाशाही सरकारले एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई गरेको बिरुधमा अधिकारकर्मीको सुरक्षा सवालमा विश्वभर हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिकसम्म १६ दिने अभियान सञ्चालन गरिन्छ । 

सुरूको समयमा महिला माथि हुने हिंसा अन्त्यको आवाज उठाउने गरिएकोमा पछिल्लो समय महिला, पुरुष र तेश्रो लिंगी समेत हिंसामा पर्ने गरेको भन्दै लैंगिक हिंसा बिरुद्धको अभियान नाम दिइएको छ । लैंगिक हिंसा नाम दिइए पनि पीडित हुने महिलाको संख्या उल्लेख्य रहेकाे गैसस महासंघका अध्यक्ष डिलकुमारी चन्दकाे भनाइ छ । 

अभियानले समाजमा महिला माथि हुने हिंसा बिरुद्ध शुन्य सहनशीलताको सन्देशको रुपमा अभियानले सचेतना बढाउने गरेको दुल्लू नगरपालिकाका मेयर भरतप्रसाद रिजालले बताउनुभयो । 

प्रतिक्रिया