पत्रकारका लागि प्राथमिक मनोवैज्ञानिक सहयोग

पत्रकारका लागि प्राथमिक मनोवैज्ञानिक सहयोग

 रुकुम पश्चिम –  भूकम्पका कारण प्रभावित पत्रकारका लागि रुकुम पश्चिममा प्राथमिक मनोवैज्ञानिक सहयोग तथा क्षमता अभिवृद्धि अभियान सम्बन्धी अन्तक्रिया कार्यक्रम गरिएको छ  ।

नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिमको संयोजन, युनेस्को काठमाडौँ, सामुदायिक रेडियो प्रसारक सङ्घ  (अकोराब) र मानसिक स्वास्थ्य तथा परामर्श सेवा केन्द्र (सीएमसी) नेपालको सहकार्यमा भएको कार्यक्रममा रुकुम पश्चिमका २८ जना पत्रकारको सहभागिता रहेको थियो । जाजरकोटपछि रुकुम पश्चिममा यो कार्यक्रम सञ्चालन गरिएको हो ।

भूकम्प प्रभावित पत्रकारलाई सीएमसी नेपालका मनोविद् गोपाल बोहराले भूकम्पपछि शारीरिक तथा मानसिक रूपमा देखिने परिवर्तन, यस्तो अवस्थाको सामनाका लागि अपनाउनुपर्ने सावधानी लगायतका बारेमा जानकारी गराउँदै सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी मध्येबाट ४ जना मानसिक रूपमा कमजोर पत्रकारलाई अर्को चरणको मनोविमर्शका लागि छनोट गरिएको सहजकर्ता बोहराले बताउनुभयो । 

पत्रकारहरूले भूकम्पपछिका अनुभूती सुनाएका थिए । रिपोर्टिङसँगै उद्धार र राहतमा पनि आफूहरू खटिएको स्मरण गर्दै पत्रकारहरूले अझैँ पनि कात्तिक १७ गतेको भूकम्पको दृश्य सम्झेर त्रसित हुने गरेको बताएका थिए ।

विपद समयमा फैलन सक्ने अफवाह, गलत सूचना नियन्त्रण तथा विपदपछिको समाचार सङ्कलन रणनीतिको बारेमा सीआईएनका कार्यक्रम सम्पादक लिलप्रकाश चन्दले सहभागी पत्रकारसंग छलफल गर्नुभएको थियो ।  

भूकम्पपछि पत्रकारको भूमिका अझ धेरै महत्त्वपूर्ण हुने भन्दै सञ्चार माध्यमले प्रभावित नागरिक, सरकारी तथा गैरसरकारी निकाय र सहायताकर्मीहरूलाई कसरी जोड्न सक्छन् भन्ने बारेमा प्रकाश पार्नुभएकाे थियो  । 

कार्यक्रममा अकोराबका केन्द्रीय सदस्य बालकुमार शर्माले भूकम्पका कारण यस क्षेत्रका पत्रकारहरूलाई नयाँ अवसर आएको र यसको सदुपयोग गरेर आफ्नो क्षमता विकास गर्न आवश्यक रहेको बताउनुभएको थियो । 

यस्तै भूकम्पमा पनि रेडियोकर्मीहरूले आफ्नो पीडा लुकाएर निरन्तर समाचार सम्प्रेषण गर्नु आफैमा एउटा महत्त्वपूर्ण इतिहास बनेको र यो सवैका लागि प्रेरणाको स्रोत बन्ने उहाँको भनाई छ । 

प्रतिक्रिया