रास्वपाको आजबाट मधेसमा संयुक्त बैठक

रास्वपाको आजबाट मधेसमा संयुक्त बैठक

काठमाडौं –   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आजबाट सुरु हुँदैछ। मधेश प्रदेशको महोत्तरीस्थित जलेश्वरमा आज विहान ११ बजेबाट संयुक्त बैठक सुरु हुने रास्वपाका उपसभापति डिपी अर्यालले बताउनुभयो  । रास्वपामा पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य र संघीय सांसद २१ जना छन् । 

उनका अनुसार मङ्सिर ११, १२ र १३ गते केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा पार्टीका प्रदेश सभापतिहरूको सहभागिता रहने छ । बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ। 

त्यस्तै  पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने उहाँको भनाइ छ । बैठकअघि रास्वपाका सभापति रवि लामिछानेले मंसिर आठ गतेबाट तीन दिने मधेस यात्रा गरेका थिए ।  

रास्वपाले २०७९ मङ्सिरको आम निर्वाचन र २०८० वैशाखको उपनिर्वाचनमा मधेसमा अपेक्षित मत पाएको थिएन । समानुपातिकतर्फ ११ लाख ३० हजार ३ ४४ मतसहित चौथो दल बनेको रास्वपा मधेस प्रदेशमा आठौँ स्थानमा थियो । उसले मधेस प्रदेशका आठ जिल्लाबाट ७२ हजार ९३५ मत पाएको थियो ।

मधेस प्रदेशका ३२ वटा निर्वाचन क्षेत्रमध्ये करिब २५ ठाउँमा मात्र रास्वपाले उम्मेदवार खडा गरेको थियो । मधेसमा रास्वपाका कुनै पनि उम्मेदवार प्रतिस्पर्धामा आउन सकेनन् । रास्वपाका कुनै पनि उम्मेदवारले मधेसमा ४ हजारभन्दा बढी मत पाउन सकेका छैनन् ।

बारा– २ को उपनिर्वाचनमा पनि रास्वपाका रमेश खरेलको जमानत जफत भएको थियो । जसपाका उपेन्द्र यादवले २८ हजार ४१५ मत ल्याएर जित्दा खरेलले २८ सय २९ मतमात्र पाएका थिए । रास्वपाले आफ्नो प्रभाव विस्तार रणनीति अनुसार मङ्सिरमा मधेस केन्द्रित छ ।

प्रतिक्रिया