इलाका प्रशासन बागचौर तीन महिनादेखि प्रमुखविहीन

इलाका प्रशासन बागचौर तीन महिनादेखि प्रमुखविहीन

सल्यान –   जिल्लाको बागचौर नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय तीन महिनादेखि प्रमुखविहीन बनेको छ। ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमै सेवा दिने उद्देश्यले स्थापना भएको इलाका प्रशासन कार्यालयमा लामो समयसम्म प्रमुख नहुँदा सेवाग्राहीले सास्ती व्यहोर्दै आइरहेका छन्।

दैनिक ५० जनासम्म सेवा लिन सेवाग्राही आउने गरेकोमा प्रमुख नहुँदा जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ।
भदौ ७ गतेदेखि कार्यालय प्रमुखविहीन भएको इलाका प्रशासन कार्यालय बागचौरका नायव सुब्बा टोपबहादुर बयकले बताउनुभयो ।

विभागीय मन्त्रालयमा पत्रचार गरे तापनि हालसम्म कुनै पनि प्रमुख आउन नसकेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, कार्यालय प्रमुख नहुँदा सेवाग्राही आउने कुरा भएन थाहा नपाएका सेवाग्राहीलाई सदरमुकाम जान आग्रह गर्ने र जिल्ला बाहिरबाट आएका अभिलेखलाई भिडाउने मात्र काम भइरहेको छ।

 इलाका प्रशासन कार्यालय थारमारेले नेपाली नागरिकताको प्रमाणपत्र, नाबालक परिचय पत्र, प्रमाणित, थर प्रमाणित, आदिवासी जनजाति, दलित प्रमाणित लगायतका सिफारिसका सेवाहरू प्रदान गर्दै आइरहेको थियो।

बागचौर नगरपालिका, दार्मा गाउँपालिका र कुमाख गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी २०७२ मा बागचौरमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो। कार्यालय प्रमुख नियमित नहुँदा पटक–पटक सेवाग्राहीले समस्या झेल्दै आइरहेका छन्।  

प्रतिक्रिया