राष्ट्रियसभा निर्वाचन कार्यतालिका स्वीकृत
काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।
आयोगको बिहीबारको बैठकले स्वीकृत गरेको कार्यतालिका अनुसार यही मङ्सिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन गर्ने र मङ्सिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्ने कार्यक्रम छ ।
दल दर्तापश्चात आगामी पुस १ गते राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । आगामी माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।
स्वीकृत कार्यतालिका अनुसार २०८० पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । सरकारले यही मङ्सिर १३ गते निर्वाचनको मिति घोषणा गरेको थियो ।
प्रतिक्रिया