एमालेले मात्रै देशलाई उर्वर र समृद्ध बनाउन सक्छ : अध्यक्ष ओली

एमालेले मात्रै देशलाई उर्वर र समृद्ध बनाउन सक्छ : अध्यक्ष ओली

दैलेख –   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले मात्रै देशलाई उर्वर र समृद्ध बनाउन सक्ने दाबी गर्नुभएको छ ।  आइतबार दैलेखकको राकममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले सरकार छाड्नेबित्तिकै देशमा राजनीतिक अस्थिरता छाएको दाबी गर्नुभयो । 

‘एमाले हटाएको डेढ वर्षमा राजनीतिक अस्थिरता छायो ।  गरिबी र महंगी बढ्यो। एमाले सरकारमा छँदा गरिबी घटेको थियो, रोजगारी बढेको थियो। फेरि पनि विकासका लागि एमाले चाहिन्छ,’ ओलीले भन्नुभयो । 

केही मान्छेले पञ्चायतकालीन बेला नै ठिक भएको भन्ने गरेको भन्दै अहिलेको गठबन्धनका कारणमात्रै देशको विकास रोकिएको बताउनुभयो । 

‘अनेकथरी तत्वहरूले अहिलेको लोकतन्त्र भन्दा पञ्चायत नै ठिक थियो भन्न सक्छन्। छिटो विकास भएन होला, अहिलेको गठबन्धन सरकारको कारणले विकासले गति लिन सकेन होला। हाम्रो जस्तो देशलाई उर्वर र समृद्ध बनाउन सकिन्छ,’ ओलीको भनाइ थियो। 

उहाँले अब नेपालमा विश्वका मानिसले हेर्न आउनैपर्ने ठाउँ बनाउनुपर्ने र त्यसको नेतृत्व एमालेले गर्ने बताउनुभयो । 

‘विश्वका मानिसले अहिलेजस्तो १० लाख पर्यटक आए होइन, दुनियाँभरका मान्छेले यहाँको विकास, जलस्रोत, श्रमजीवि मानिस, र विद्धानका सन्तानलाई हेर्न जानुपर्छ भन्ने अवस्था बनाउनुपर्छ। एमाले त्यसका लागि नेतृत्व गर्न सक्षम छ,’ ओलीले भन्नुभयो ।

आज पनि केही मानिसहरू प्रतिगमनतर्फ फर्कने कुरा गर्ने गरेको भन्दै त्यो देश र लोकतन्त्रविरुद्ध भएको बताउनुभयो । 

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सोमबार मध्यपहाडी राजमार्ग छोडेर गुराँस गाउँपालिकाको भवन उद्घाटन गर्ने र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने जनसभामा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । 

प्रतिक्रिया