आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना

आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ –  हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै देशको पूर्वी भू–भागमा बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित मिग्जउम नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ ।

हाल कोशी र लुम्बिनी प्रदेशका साथै देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् रोजन लामिछानेले बताउनुभयो  ।

उहाँका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

अहिले काठमाडौँको वायुको तापक्रम १४ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता छ किलोमिटर रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी काठमाडौँमा आज न्यूनतम तापक्रम आठ दशमलव चार डिग्री तथा अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँमा हिजोकोभन्दा आज न्यूनतम तापक्रम शून्य दशमलव सात डिग्रीले बढेको छ, आज काठमाडौँमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।”

यसैगरी आज राति कोशी, मधेस, बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया