साेती घटनाकाे फैसला आज केही समयमा आउँदै
रुकुमपश्चिम – साेती घटनाकाे फैसला आजै आउने रूकुम अदालतले जनाएकाे छ । आइतबारदेखि लगातार तीन दिन बहस भएको प्रतिवादीहरुको संख्या पनि ३४ जना भएको कारण समय बढी लागेको जिल्ला अदालतका सूचना अधिकारी गोबिन्द कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो अलि ढिला होला तर फैसला आजै आउँछ ।
जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका नवराज विक र र रुकुमको चौरजहारी नगरपालिका–८ की १७ वर्षीया मल्ल थरकी बालिकासंग प्रेम सम्बन्धको विषयलाई लिएर ०७७ जेठ १० गते ६ जनाको सामूहिक हत्या भएकाे थियाे ।
प्रेमिकाले बोलाए अनुसार विबाह गरेर लैजान भन्दै रुकुमपश्चिम चौरजहारी नगरपालिका– ८ सोतीमा पुगेका नवराज र उहाँका साथीहरु माथि जात नमिल्ने भन्दै सोतीका स्थानियले जाजरकोटका नवराज विक, गणेश बुढा, लोकेन्द्र सुनार, सन्जु विक, गोविन्द शाही र चौरजहारी नगरपालिका रुकुम पश्चिमका टिकाराम नेपालीको हत्या गरेका थिए ।
सोती घटनामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकीलको कार्यालयले ०७७ जेठ ३२ गते ३४ जना विरुद्ध रुकुम जिल्ला अदालतमा कर्तव्यज्यान सम्वन्धी अभियोग दर्ता गरेको थियो । त्यसबेला वादीको तर्फबाट पाँच जना सरकारी वकील, जाहेरवालाको तर्फबाट २० जना र प्रतिवादीका तर्फबाट सात गरी ३२ जना वकीलले बहस गरेका थिए ।
तीन दिन लामो थुनछेक बहसपछि रुकुम जिल्ला अदालतका तत्कालिन जिल्ला न्यायाधीश बिद्याराज पौडेलको एकल इजलालसले ०७७ असार ३ गते चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित २३ जनालाई पुर्पक्षका लागि कारागार पठाएको थियो ।
जिल्ला न्यायाधीश पौडेलेको इजलासले नाबालिका भनिएका नवराजकी प्रेमिका र एक १७ वर्षका नाबालकलाई बालसुधार गृह पठाइएको थियो । नवराजकी प्रेमिकाकी आमा ३९ वर्षीया महिलालाई १ लाख धरौटी र ३ जना प्रतिवादीहरूमा इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई साधारण तारेखमा छुटेका थिए ।
प्रतिक्रिया