सोती घटना फैसला : २४ लाई जन्मकैद र २ जातीय विभेदका दाेषी

सोती घटना फैसला : २४ लाई जन्मकैद र २ जातीय विभेदका दाेषी

रुकुमपश्चिम – जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका नवराज विक र र रुकुमको चौरजहारी नगरपालिका–८ की १७ वर्षीया मल्ल थरकी बालिकासंग प्रेम सम्बन्धको विषयलाई लिएर ०७७ जेठ १० गते ६ जनाको सामूहिक हत्या घटनाको अदालतले अन्तिम फैसला गरेको छ । 

आइतबारदेखि सुरू भएको तीन दिन लामो अन्तिम सुनुवाइपछि रुकुमका जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले कर्तव्यज्यान घटनाको कसुरमा थुनामा रहेका चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित २४ जनालाई जन्मकैद सजाय सुनाएको अदालतका सूचना अधिकारी गोबिन्दप्रसाद कोइरालाले जानकारी दिनुभयो । 

कर्तव्यज्यान मुद्दामा जिल्ला सरकारी वकील कार्यालय अभियोग लागेका तर अदादलबाट थुनछेक बहसपछि बाल सुधारगृह पठाइएका नवराजकी प्रेमिकाकाे १५ वर्षीय भाइलाई समेत जन्मकैद फैसला भएकाे छ । जन्मकैद फैसला भए पनि १६ वर्ष मुनिका बालबालिका आधा कैद  मिनाह हुँदा उनी साढे १२ वर्ष बाल सुधारगृहमा बिताउनुपर्नेछ । 

नवराजकी प्रेमिका र उनकी आमालाई जातीय विभेदसम्बन्धी कसूरमा जनही २ वर्ष  कैद र ५० हजार जरिवाना फैसला सुनाइएको छ । साधारण तारेखमा छुटेका ८ जनालाई भने सफाइ दिइएको छ । जन्मकैद ताेकिएका सबैबाट जनही ४० हजारका दरले भराइ घटनामा हत्या भएका ६ जनाका परिवारलाई दामासाही रकम बाँड्न फैसलामा उल्लेख छ । 

सोती घटनामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकीलको कार्यालयले ०७७ जेठ ३२ गते ३४ जना विरुद्ध रुकुम जिल्ला अदालतमा कर्तव्यज्यान सम्वन्धी अभियोग दर्ता गरेको थियो । 

तीन दिन लामो थुनछेक बहसपछि रुकुम जिल्ला अदालतका तत्कालिन जिल्ला न्यायाधीश बिद्याराज पौडेलको एकल इजलालसले ०७७ असार ३ गते चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित २३ जनालाई पुर्पक्षका लागि कारागार थुनामा पठाएको थियो । थुनामा रहेका सबैलाई जन्मकैद भएकाे हाे । 

तत्कालिन जिल्ला न्यायाधीश पौडेलेको इजलासले नाबालिका भनिएका नवराजकी प्रेमिका र  १५ वर्षका नाबालकलाई बालसुधार गृह पठाइएको थियो । नवराजकी प्रेमिकाकी आमा ३९ वर्षीया महिलालाई १ लाख धरौटी र ३ जना प्रतिवादीहरूमा इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई साधारण तारेखमा छुटेका थिए । 

नवराज सहित ६ जना युवाहरुको हत्यामा संलग्न भनी प्रहरी अनुसन्धानबाट खुलेका पाँच जना चौरजहारी नगरपालिका– ८ का तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भिमबहादुर बुढालाई जिल्ला सरकारी वकील कार्यालयले उनीहरु समेतलाई अभियोग लगाएकोमा उनीहरु पछि अदालतमा हाजिर हुँदा साधारण तारेखमा छुटेका थिए । 

जन्मकैद तोकिएकाहरुमा वडाध्यक्ष मल्ल सहित डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, वर्षीय पुरुष, तिलक चन्द, हर्कबहादुर मल्ल, बिनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्र भन्ने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, विराज पुन मगर, भिमबहादुर पुन, रमित पुन, सर्वजित भन्ने सविन पुन, मोहन पुन, नविनकुमार घर्तिमगर रहेका छन् ।

नवराज सहित ६ जना युवाहरुको हत्यामा संलग्न भनी प्रहरी अनुसन्धानबाट खुलेका पाँच जना चौरजहारी नगरपालिका– ८ का तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भिमबहादुर बुढालाई जिल्ला सरकारी वकील कार्यालयले उनीहरु समेतलाई अभियोग लगाएका सबैलाई जन्मकैद भएको छ । 

प्रेमिकाले बोलाए अनुसार विबाह गरेर लैजान भन्दै रुकुमपश्चिम चौरजहारी नगरपालिका– ८ सोतीमा पुगेका नवराज र उहाँका साथीहरु माथि जात नमिल्ने भन्दै सोतीका स्थानियले जाजरकोटका नवराज विक, गणेश बुढा, लोकेन्द्र सुनार, सन्जु विक, गोविन्द शाही र चौरजहारी नगरपालिका रुकुम पश्चिमका टिकाराम नेपालीको हत्या गरेका थिए । 

 

फैसला बारे पीडित र सरोकारवालाको भनाई  
यो घटनाको बेला स्थलगत घटना अध्ययन प्रतिवेदन तयार पार्नु भएकी तत्कालिन इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले आन्तरजातीय प्रेम सम्बन्धकै कारण नवराज र उनका साथीहरुको हत्या भएको आफूले प्रतिवेदनमा लेखेको सम्झिंदै फेसबुक स्टाटस लेख्नुभएको छ ‘त्यो प्रतिवेदनले थप पूर्णता पाएको र पीडितले न्याए पाएकोमा खुशी लाग्यो ।’

घटनाको साढे तीन वर्षपछि फैसला हुन मंसिर १७ गते आइतबार तोकिएको पेशीका दिन फैसला भइहाल्ला भनी रुकुम जिल्ला अदालतको प्रवेशद्वारमा पुगेकी नवराजकी आमा उर्मिला बिक, नवराजसंगै मारिएका गणेश बुढाकी आमा राधिकाले फैसला सुनेपछि छोराहरुको आत्मले शान्ति पाउने बिश्वास व्यक्त गर्नुभयो । लोकेन्द्र सुनारकी आमाले भन्नुभयो ‘न्याय मरेको रैनछ, खुशी लाग्यो ।’

नागरिक समाजले सामूहिक नरसम्हार संज्ञा दिएको यो घटनाको विषयमा संसदमा समेत बहसको विषय बनेपछि जेठ २६ जेठमा प्रतिनिधिसभाका साँसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । 

समितिमा तत्कालिन सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिशुन्के, प्रकाश रसाइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव सदस्य हुनुहुन्थ्यो । छानविन समितिले घटनाको अध्ययनपछि दोषीलाई कारबाही र पीडित परिवारको शिक्षा, स्वास्थ्य, रोजगारी र भरणपोषणको व्यवस्था सरकारले गर्नुपर्ने सिफारिस गरेको थियो ।

‘अदालतबाट न्याय पाएको सुन्दा हाम्रो मनलाई समेत शान्ति मिलेको छ’ पूर्वसाँसद पार्वतीकुमारी बिशुन्केले भन्नुभयो । संसदीय समितिले पीडित परिवारलाई शिक्षा, स्वास्थ्य, रोजगारी र भरणपोषणको व्यवस्था गर्न लिखित  सिफारिस गरे अनुसार सरकारको ध्यान जानपर्ने पूर्वसाँसद प्रकाश रसाइलीको टिप्पणी छ ।  

 

सामूहिक नरसम्हार सिलसिला 
करिब तीन घण्टाको पैदल दूरमा रहेको जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीया नवराज विक र चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी १७ वर्षीया ती युवतीबीच २०७५ सालमा जाजरकोटकै कुदुमा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पहिलोपटक भेट भएको थियो । 

नवराजले कुशलता पूर्वक खेलेको भलिबल हेरेर प्रशंक बनेकी ती युवती उनीहरूबीचको त्यो भेट प्रेम सम्बन्धमा बनेको थियो । २०७६ पुसमा खलंगामा लागेको रमाइलो मेलामा आएकी युवती चार दिनसम्म नवराजको घरमा बसेकी भन्ने कुरा नवराज सहित ६ जनाको हत्या घटनापछि जानकारीमा आएको थियो । 

नवराज र युवतीबीचको वार्तालाप सुनेर नवराजकी आमाले उनीहरूबीच प्रेम र अन्तरजातीय विवाहको सोच बनाएको युवतीकी आमाले चाल पाएकी थिइन् । त्यो पटक नवराजले युवतीलाई उनको घरमा पु¥याउन गएको समयमा युवतीकी आमाले नवराजलाई खाना खुवाएर जात नमिल्ने भएकाले घरमा आउजाउ नगर्न भनेकी थिइन् ।

त्यो पटक त्यति भने पनि २०७६ चैत १७ गते नवराज दोस्रोपटक युवतीको घर सोती गएका गएको बेला युवतीको आमाको सिकायतपछि तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवतीका दाजु विनोद मल्ल र परिवारको अरू सदस्यले कुटपिट गरी इलाका प्रहरी कार्यालय चौरजहारीमा बुझाएका थिए ।

कुटपिट गरी घाइते पारिएका नवराजलाई बुझी लिन भनी चौरजहारी प्रहरीले नवराजकी आमाले बुझी लिएकीमा २०७७ जेठ १० गते नवराजकी प्रेमिकाले लिन आउनू भनेअनुसार १८ जना साथीहरू लिएर सोती पुगेका थिए । साँझ साढे ५ बजेति सोती पुगेका समूह मध्ये नवराजलाई देखेपछि युवतीकी आमाले ‘तँ डुम फेरि आइस्, तँलाई कुटाइ नपुगेको हो’ भनेर गाउँ गुहारेपछि नवराज र उनका साथीहरु माथि आक्रमण भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको स्थलगत घटना अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

त्यसबेला नवराज र सँगै गएका साथीहरू फर्किरहेको बेला बाटोमा स्थानीय बालकुमारी विश्वकर्माको घरको धारामा पानी पिएका थिए । पानी पिउन लाग्दा केही स्थानीयले ‘काफल खाएर जाऊ’ भनेर अल्मल्याउन खोजेका छिटोछिटो गरी गइरहेको बेला हातहातमा लाठी भाला बोकेका स्थानीयले लखेट्दै आधा घण्टा दूरीको भेरीको बीबीएलको पुलमा घेराहाली मरणासन्न हुने गरी कुटपिट गरी भेरी नदीमा बगाइदिएका थिए । 

उनीहरू फर्किएर मध्यपहाडी लोकमार्गको माथिल्लो भागमा रहेको ठूलो ढुंगामा बसिरहेका बेला हतियारसहित ठूलो जत्था आएर घेरा हालेर एक्कासि आक्रमण भइरहेको बेला आक्रमण सुरू भएको आधा घण्टापछि घटनास्थल पुगेको प्रहरीले १२ जनालाई घाइते अवस्थामा उद्धार गरेको तत्कालिन प्रतिनिधिसभाको संसदीय अध्ययन टोलीको प्रतिवेदनमा उल्लेख छ । 

घटना भएको तीन दिनमा २०७७ जेठ १३ गते पीडित परिवारले २० जना विरूद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दिएका थिए । जाहेरीबाट तानिएका तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २० जनाको बयानबाट खुलेका अरु १४ जना गरी ३४ जना बिरुद्ध अदालतमा अभियोग पेश गर्दा ५ जना जनाउदै पक्राउ परेका अभियोग २९ जनालाई थुनछेक बहसमा उपस्थित गराइएको थियो । 

(* २३ जना भन्ने सूचनापछि २४ जना जन्मकैद निर्क्याैल अनुसार सच्याइएकाे - सम्पादक)

प्रतिक्रिया