पीडितको पैरबी गर्ने कर्मचारीद्वारा श्रीमतिलाई कुटपिट

पीडितको पैरबी गर्ने कर्मचारीद्वारा श्रीमतिलाई कुटपिट
सुन्नुहोस्

दैलेख –  महिला, पुरुष वा जो कोही हिंसामा नपरुन् भन्ने ध्येयले सञ्चालन भइरहेको लैंगिक हिंसा विरुद्धको १६ दिने सचेतना अभियान समापन तथा मानव अधिकार प्रवद्र्धन निम्ति आज डिसेम्बर १० तारिकमा विश्व मानव अधिकार दिवसको तयारी भइरहेको बेला सरकारी कर्मचारीले श्रीमति कुटपिट गरेको समाचार प्राप्त भएको छ ।  

सबै किसिमका पीडितको अधिकारको पैरबी, पहरेदारी र राहत दिने कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका नासु नमराज शर्मा रिजालले श्रीमतिलाई मरणासन्न हुने कुटपिट गरेको पीडित पक्षले बताएको छ । पीडक दैलेखको भैरबी गाउँपालिका–४ सिलङ्गी गाउँका बासिन्दा हुन् । 

पिटाई खाने नमराजकी श्रीमति निर्मला आचार्य पनि भैरबी गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठनागरिक शाखा प्रमुख नासु पदमा कार्यरत हुनुहुन्छ । शनिबार विहान घरमै भएको कुटपिटको क्रममा निर्मलाको आँखामा गम्भीर चोट लाग्नुसंगै ढाड र तीघ्रामा जुत्ताको डाम बसेको जनाइएको छ । 

गाउँपालिकाको निर्धारित कार्यक्रम अनुसार लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको कार्यक्रम गर्न जाँदा कार्यालयको पुरुष कर्मचारीको मोटरसाइकल चढेको विषयलाई विवादको विषय बनाई कुटपिट भएको निर्मलाले ज्वालासन्देशलाई बताउनुभयो । निर्मलाको उपचार कर्णाली प्रदेश अस्पतालमा भइरहेको छ । 

घटनाबारे नासु रिजालको प्रतिक्रिया यस्तो छ ‘सामान्य भनाबोल भएको हो, थप्पड हान्न खोज्दा घडीले ठोक्किएर आँखामा चोट लाग्न पुग्यो । कतै जाँदा वा केही काम गर्दा सरसल्लाह हुनु प¥यो, खास विवाद यही कुरा हो ।’ घटटनाबारे प्रहरीमा उजुरी गरेको पीडित पक्षले जानकारी दिएको छ । 
 

प्रतिक्रिया