निराशाका अभिव्यक्ति नदिन मन्त्री सिंहको सुझाव
दैलेख – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले जनतामा निराशा छाउने अभिव्यक्ति नदिन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । जिल्ला समन्वय समिति महासंघकाे साेमबार दैलेखमा भएकाे कर्णाली प्रदेश स्तरीय दोश्रो भेलामा उहाँले जनतामा आश र उत्प्रेरणा जगाउन सुझाव दिनुभयो ।
मन्त्री सिंहले बाझो बारी जोत्ने र उद्यम गर्ने उलमीलाई प्रदेश सरकारले अनुदान कार्यक्रम ल्याउन लागेको जानकारी दिंदै कर्णालीको समृद्धिको नागरिकहरु पनि उत्पादनमूलक कामम जुट्न आग्रह गर्नुभयो । उहाँले जिल्ला समन्वय समितिलाई अधिकार र श्रोत थप्ने कुरामा आफू सकारात्मक रहेको बताउनुभयो ।
त्यस बखत उद्योग, पर्यटन, वन तथा वातावरण तथा मन्त्री कृष्णकुमार बीसीले कर्णाली प्रदेशको विकास र समृद्धिको लागि पर्यटन व्यवसाय नै प्रमुख आधार हुने बताउदै अग्र्यानिक खाद्यबस्तुको प्रवद्र्धनमा स्थानीय सरकारले लगानी बढाउनुपर्ने सुझाव दिनुभयो ।
जिल्ला समन्वय समिति महासंघ कर्णाली प्रदेश अध्यक्ष मञ्जनबहादुर कार्कीको अध्यक्षतामा भएको भेलाले ५ बुदे घोषणापत्र जारी गर्दैैै भेला आजै सकिएको छ । जिल्ला समन्वय समिति हुम्लाका प्रमुख धनु खडेराले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा दैलेखका राजीतिक दलका प्रमुखहरुले जिल्ला समन्वय समितिको अधिकार क्षेत्र बढाउनपर्ने धारणा राख्नुभएको थियो ।
महासंघको दोश्रो भेलाले जिससलाई अधिकार र श्रोतको व्यवस्था, जिससको कोषमा जम्मा भएको रकम खर्च गर्न पाउनुपर्ने, जिससहरुको प्रतिवेदन र सिफारिसलाई महत्व दिइनुपर्ने, जिल्लाभित्रको नदीजन्य तथा खानीको उत्खनन् तथा बिक्री जिससलाई दिइनुपर्ने, पूर्वाधार तथा संरचना सुधार क्षेत्रमा रकम बिनियोजन गरिनुपर्ने माग सहित दैलेख घोषणापत्र जारी गरेको छ ।
अघिल्लो वर्ष प्रदेश राजधानी सुर्खेतमा भएको महासंघको पहिलो भेलाले हरेक वर्ष फरकफरक जिल्लामा भेला गर्ने निर्णय अनुसार यो वर्ष कर्णाली प्रदेश अन्तरगतका १० जिल्लाका जिसस प्रमुख, उपप्रमुख र सात जना सबै सदस्यहरुको भेला भएको हो ।
मन्त्रीद्वय सिंह र बीसीले जिल्ला समन्वय समिति महासंघ कर्णाली प्रदेश स्तरीय दोश्रो भेला कार्यक्रमपछि जिल्ला प्रहरी कार्यालय दैलेखले शान्ति, सुरक्षा क्षेत्रमा गरेको काम, जनशक्ति र भौतिक अवस्था बारे जानकारी लिनुभएको थियो । प्रहरीले भोगिरहेका समस्या विषयमा दैलेखका प्रहरी इञ्चार्ज डीएसपी किशोर लम्सालले मन्त्रीद्वयलाई ब्रिफिङ्ग गर्नुभएको थियो ।
प्रतिक्रिया