मनोसामाजिक समस्या व्यवस्थापन बारे शिक्षकलाई तालिम

मनोसामाजिक समस्या व्यवस्थापन बारे शिक्षकलाई तालिम

मानसिक स्वास्थ्य परामर्श केन्द्र (सीएमसी) नेपालले दैलेखमा सञ्चालन गरिरहेको कर्णाली मानसिक स्वास्थ्य परियोजनाले दैलेखका तीन वटा पालिकाका ९ विद्यालयका १८ जना शिक्षकहरुका लागि ५ दिने विद्यार्थी मनोसामाजिक परामर्श तालिम दिएको छ । 

विद्यार्थी देखिने मनोसामाजिक समस्या, मनोसामाजिक समस्याका प्रकारहरु, ती समस्याको पहिचान तथा व्यवस्थापन विधिको आधारभूत सीप, समस्या सुनुवाइका लागि आवश्यक पर्ने गुण तथा क्षमता, मनोसामाजिक समस्या भएका विद्यार्थीको परामर्श अभ्यास विषयमा तालिम दिइएको थियो । 

बालबालिकामा देखिने मनोसामाजिक समस्याहरु चिन्ता, डर, दिक्दारीपन, उनीहरुमा पैदा हुने ग्लानी, हिनतादेखि आत्महत्यासम्मको सोचको पहिचान गरी प्रभावित बालबालिकाको उचित हेरचाह, उपचार र मनोसामाजिक सहयोग विषय शिक्षकहरुले आफूहरुका लागि नयाँ सीप र ज्ञान प्राप्त भएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो । 

तालिम समापन कार्यक्रममा नारायण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले व्यक्तिमा देखिने मनोसामाजिक समस्या हरेकमा फरकफरक हुने बताउदै शिक्षकहरुले सिकेको ज्ञान तथा सीप स्वयम् आफू, परिवार र कार्यक्षेत्रमा व्यवहारिक प्रयोग गर्न सुझाव दिनुभयो ।

त्यसबखत दैलेख जिल्ला अदालतका बालमनोविज्ञ पत्रकार अमर सुनार, नारायण नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख खमबहादुर, स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले व्यस्तता, खर्चिलो जीवनशैनी, खानपान असावधानीले मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गएको भन्दै मनोपरामर्श सीप पाउनु शिक्षकको लागि उपयुक्त अवसर भएको बताउनुभयो । 

त्यसबखत प्रशिक्षक द्वय मनोपरामर्शकर्ता कमला पौडेल, गगनबहादुर ओली, तालिमका सहभागी शिक्षक द्वय मीनाकुमारी खड्का, बिमलकुमार रेग्मीले मानसिक स्वास्थ्य सेवा नयाँ र जनचासोको प्रमुख स्वास्थ्य समस्या भएकोले तालिम अन्तरक्रियात्मक र अभ्यासमा केन्द्रित भएकोले तालिममा सिकेको सीप व्यवहारमा प्रयोग आउने विश्वास व्यक्त गर्नुभएको थियो । 


 

प्रतिक्रिया