किसानसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन

किसानसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन

स्याङ्जा –   गल्याङ नगरपालिकाले किसानसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरेसँगै यहाँका किसान लाभान्वित भएका छन् । नगरपालिकाका ११ वटै वडाका गाउँगाउँमा जनप्रतिनिधिसहित कृषि प्राविधिक पुगेर प्राविधिक सेवा तथा परामर्श दिएका हुन् । 

नगरप्रमुख गुरुप्रसाद भट्टराईका अनुसार गत असोजको अन्तिम सातादेखि सुरु भएको उक्त अभियान मङ्सिरको अन्तिम साता सकिएको हो । गाउँमा रहेका सामान्य किसानलाई पालिकाको कृषि र पशु शाखाको सेवा र सुविधासँग जोड्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको बताउनुभयो ।

ुगाउँमा कृषि कर्म गरेर बस्नुभएका किसानका समस्याको घरमै पुगेर समाधान गर्ने र उहाँहरुलाई नगरपालिकासँग जोड्नका लागि दुई महिनासम्म यो अभियान सञ्चालन गर्‍यौँ, भट्टराईले भन्नुभयो, वास्तविक किसानको पहुँच पालिकासम्म विस्तार गर्न तथा कृषकको गुनासो सुन्नका लागि यो अभियान प्रभावकारी रह्यो । उहाँका अनुसार एघार वडाका ६१ गाउँका चार हजार एक सय ८७ कृषक लाभान्वित भएका हुन् । 

स्थानीयस्तरका कृषि कार्यक्रम तथा योजनामा सीमित वर्गका व्यक्तिको मात्रै पहुँच पुग्ने तर वास्तविक किसानको पहुँच नगरसम्म आई नपुगेकाले किसानसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख भट्टराईले बताउनुभयो  । निर्वाहमुखी कृषि तथा पशुपालनलाई व्यावसायिकतातर्फ उन्मुख गराउन यसले सहयोग पुग्ने उहाँको विश्वास छ । 

किसानका समस्या तथा गुनासा गाउँमै पुगेर टिपोट गरेकाले आगामी दिनमा नीति तथा कार्यक्रम बनाउँदा अझै प्रभावकारी हुने उपप्रमुख हेमा न्यौपानेले बताउनुभयो  । उहाँका अनुसार कृषकले गुणस्तरीय बीउबिजनमा पहुँच नभएको, निजी एग्रोभेटबाट प्राविधिकसहित बीउ र विषादीको भर पर्दै आइरहेको, खेतीपाती तथा पशुपालनबाट अपेक्षाकृत आम्दानी हुन नसकेको, बालीनाली बाँदरले क्षति पुर्‍याउने गरेकोलगायत गुनासा र समस्या जनप्रतिनिधिका साथै कृषि तथा पशु प्राविधिकमाझ राखेका थिए ।

गाउँमै पुगेर कृषकका समस्या तथा गुनासो सुनेर उहाँहरुलाई प्राविधिक सहयोग तथा परामर्श प्रदान गरिएको पशु शाखा प्रमुख सुशील अर्यालले बताउनुभयो  । नगरपालिका कार्यालयले किसानका समस्याको पहिचान गरी समाधान गर्नुकासाथै नियमित सम्पर्कमा राख्दै पहुँच विस्तारमा सहयोग पुग्ने उहाँले बताउनुभयो  ।

प्रतिक्रिया