देशमा अहिले कुनै राजनीतिक संकट छैन : शर्मा
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले देशमा कुनै राजनीतिक संकट नरहेको बताउनुभएको छ । शनिवार काठमाडौँमा जारी नेपाली कांग्रेसको पहिलो बागमती सम्मेलनमा बोल्दै उनले नेपालमा आहिले संकट रहेको कुरा गर्ने गरेपनि राजनीतिक संकट नरहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘संकट केलाई मान्न मिल्छ भने जतिबेला नेपालमा हिंसात्मक विद्रोहको अवस्था थियो । राज्य नै गाउँ छिर्न नसक्ने अवस्था थियो । मान्छे यतै मरेको उतै मरेको ठप्प अवस्था थियो । त्यस्तो अवस्थामा हल खोज्ने कांग्रेस तर अहिले हामीले सानोतिनो समस्यालाई संकट भनेर कांग्रेसले बिस्कुन सुकाउन मिल्छ ?’
संविधानसभाको निर्वाचनपछि संविधान बन्न नसकेको संकटमा अर्को चुनाव गराएर संविधान बनाएर कांग्रेसले संकट टारेको बताउँदै उहाँले अहिले त्यस्तो संकट नरहेको टिप्पणी गर्नुभयो । महामन्त्री शर्माले अब नयाँ विश्वास र पूरानो भावनाको कांग्रेस बनाउनुपर्ने बताउनुभयो ।
२०१५ सालमा निर्वाचनमा जानु अगाडि वीपी कोइरालाले पार्टीका सदस्यहरुको नाममा पत्र लेखेको बताउँदै त्यसमा २००७ सालको क्रान्तिपछि पार्टीमा धेरै आत्मविश्वास भएको र धेरै आत्मविश्वासले क्षति पुग्ने बताएको स्मरण गराए । साथै पार्टीमा पद लिने तर त्यसको दायित्व पूरा नगर्ने कुराले असर गर्ने कुराको स्मरण गराउनुभयो ।
उहाँले भन्नुभयो– ‘हामी बलियो छौँ, हामी लोकतान्त्रिक छौँ, संघर्षबाट आएका हौं, पटक पटक सत्ताको नेतृत्व गरेका हौँ तैपनि हामी एक्लै छौँ भन्ने आत्मविश्वास हामीले आजको दिनमा छोड्नु नै पर्छ । नयाँ नयाँ चुनौती आएको छ, नयाँ नयाँ दलहरु पनि आएका छन् । हामी सबैलाई सम्मान र सहकार्य पनि गर्छौँ । सामना पनि गर्छौँ ।’
उहाँले पार्टीमा को कसले केके पद लिएको छ त्यसको दायित्व पूरा गरेको छ कि छैन त्यसको समीक्षा, आत्मआलोचना गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया