चितवनमा आजदेखि हात्ती महोत्सव शुरु हुँदै

चितवनमा आजदेखि हात्ती महोत्सव शुरु हुँदै

काठमाण्डौ –  चितवनमा आजदेखि हात्ती महोत्सव शुरु हुँदैछ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि यही पुस १४ गतेसम्म  ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना गरिएको हो । यसअघि कोभिड–१९ का कारण रोकिएको महोत्सव यस वर्ष हुन लागेको हो ।

होटल सङ्घ नेपाल (हान) अन्तर्गतको क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन संरक्षण संस्था र रेष्टुरेन्ट एन्ड बार एसोसिएशनको सह–आयोजनामा १७औँ संस्करणको महोत्सव हुन लागेको हो ।

सङ्घका अनुसार महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, सांस्कृतिक झाँकीलगायत कार्यक्रमको तालिका रहेको छ । महोत्सवमा विगतमा जस्तो हात्ती पोलो, हात्ती दौडजस्ता प्रतियोगिता भने नहुने भएको छ । महोत्सवबाट अन्तर्राष्ट्रियस्तरमै चितवनसहित देशकै पर्यटन प्रवर्द्धन हुने आयोजकको विश्वास छ ।

महोत्सव सकिएलगत्तै क्षेत्रीय होटल सङ्घले नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा यही पुस १५ गते विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको क्षेत्रीय होटल सङ्घ चितवनका कोषाध्यक्ष माधव दुवाडीले बताउनुभयो  । 

प्रतिक्रिया