नेता–कार्यकर्तालाई सरल जीवनका लागि रुपान्तरण अभियान

नेता–कार्यकर्तालाई सरल जीवनका लागि रुपान्तरण अभियान

दैलेख – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले नेता र कार्यकर्ताको बिलासी जीवनशैली सरल गराउन ‘घरघरमा माओवादी, जनजनमा माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन भएको बताउनुभएको छ । 

कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री समेत रहनुभएका शाहीले दैलेखका ११ पालिकामा सञ्चालित अभियानको मंगलबार दैलेख सदरमुकाममा भएकाे समीक्षा कार्यक्रममा बोल्दै दिनदुखी र गरिब जनताको मत पाएको माओवादीका नेता र कार्यकताको सरल जीवन यापनमा अभ्यस्त गर्न रुपान्तरण अभियान थालिएको प्रष्ट्याउनुभयो । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले कर्णाली प्रदेशको सबै भन्दा कमजोर संगठन भएको दैलेखमा अभियानले संगठन बिस्तार, विचार र नेतृत्व विकासमा प्रदेशमै उल्लेख्य काम गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । 

अध्यक्ष केसीले साँगठनिक बल कमजोर भएकै कारण दैलेखमा केन्द्रले दिने विकास र नेतृत्वका अबसरहरु कम दिएको स्थानीय पार्टी नेतृत्वको गुनासो स्वभाविक भएको भन्दै यो सवाल केन्द्रमा आफूले प्रभावकारी रुपमा राख्ने बचन दिनुभयो । 

अभियानका दैलेख इञ्चार्ज नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्माले एकता, संगठन पद्धति, नेतृत्वको अभ्यासमा अझैं मेहनत गर्न जरुरी रहेको औल्याउनुभयो । अभियानका दुल्लू इञ्चार्ज नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पार्वती बिकले उपलब्धी रक्षा गर्न संगठन परिचालन गरिरहन पर्ने आश्यकता दर्शाउनुभयो । 

पार्टीका जिल्ला नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रेम कटुवालको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा दैलेखका ११ वटै पालिकामा सञ्चालित अभियान इञ्चार्जहरुले प्रतिवेदन प्रस्तूतीसंगै पार्टी संगठन पद्धति र भावी रणनीति विषयमा अन्तरक्रिया समेत भएको थियो । 
 

प्रतिक्रिया