बालकुमारी घटनामा युवाको मृत्यु प्रकरण : वीरेन्द्रनगरमा सरकारविरुद्ध आन्दोलन
सुर्खेत – शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएपछि शनिबार वीरेन्द्रनगरमा सरकारविरुद्ध आन्दोलन सुरु भएको छ । दैलेखलगायत कर्णालीका युवाहरुले वीरेन्द्रनगरमा आन्दोलन थालेका हुन् ।
ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सुजनसँगै अछामका वीरेन्द्र शाहको पनि मृत्यु भएको थियो ।
‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै युवाहरुले वीरेन्द्रनगरको एरिचोकबाट आन्दोलन सुरु गरेका हुन् । उनीहरुले टायर बाल्नेदेखि गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा समेत माग गरिरहेका छन् ।
उनीहरुले रोजगारीका लागि विदेश जान्छुभन्दा पनि राज्यकै कारण युवाहरुको ज्यान गएको बताएका छन् । आन्दोलनमा सहभागी दैलेखका नवीन योगीले गृहमन्त्री र भौतिक मन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन स्थगित नहुने बताउनुभयो । ‘यो अहिले सांकेतिक रुपमा मात्रै हो, यो सरकारले आफू बिरामी भएको नाटक गरिरहे हामी चर्को विद्रोह गर्न बाध्य हुने छौँ,’ उहाँले भन्नुभयो, ‘मृत्यु भएका दुई जनालाई सहिद घोषणा गर्नुपर्छ ।’
प्रतिक्रिया