बालकुमारीमा ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने निर्णय
काठमाडौँ – सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार दिउँसो भएको घटनामा परी ज्यान गुमाएका दुई युवाको परिवारलाई १०–१० लाख राहत घोषणा गरेको छ।
शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको सहभागी एक मन्त्रीले बताउनुभयो । ‘मृतक युवाको परिवारलाई प्रति परिवार १०–१० लाख दिने निर्णय भएको छ,’ उहाँले भन्नुभयो।
त्यस्तै, सातदोबाटोका डीएसपी उमेश लम्साल र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय पनि बैठकले गरेको छ।
त्यस्तै, ईपीएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय पनि भएको ती मन्त्रीले बताउनुभयो । उक्त घटनामा घाइतेहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय पनि भएको सरकारकी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो ।
सरकारले परिवारप्रति समवेदना र मृतकप्रति श्रद्धाञ्जली अर्पण समेत गरेको छ। बालकुमारीमा भएको प्रहरीसँगको झडपमा परी अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका २३ वर्षीय वीरेन्द्र बहादुर शाह र दैलेखको महावु गाउँपालिका–६ घर भएका २३ वर्षीय सुजन रावतको मृत्यु भएको थियो।
प्रतिक्रिया