दैलेखका सुजन रावतकाे शवयात्रा सुरु

दैलेखका सुजन रावतकाे शवयात्रा सुरु

दैलेख – गएको शुक्रबार ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखका सुजन रावतको शवयात्रा सुरु भएको छ । सुर्खेतसम्म हवाईजहाज र सुर्खेतदेखि हेलिकप्टरमा सदरमुकाम पु¥याइएपछि दिउँसो शवयात्रा सुरु भएको हो । 

महाबु गाउँपालिका–६ रानीवनको भए पनि जन्मेका र बसोबास समेत जिल्ला सदरमुकाममा भएकोले सदरमुकामबाट श्रीस्थानमा दाहसंस्कार लागि लिइँदैछ । हिन्दू धार्मिक परम्परा अनुसार काजकिरिया थालिएको परिवारजनले बताएका छन् ।  

कोरिया रोजगारको लागि आवेदन भर्ने विषयको विवादमा युवाहरुले गरेको प्रदर्शनमा ज्यान गुमाएका दैलेखका सुजन र अछामका बीरेन्द्र शाहका परिवारजनसंग नेपाल सरकारले सोमबार गरेको सहमतिपछि परिवारजनले मंगलबार नै काठमाण्डौंमा शव बुझेका थिए । 

नेपाली सेनाको हेलिकप्टरले दैलेखस्थि कालिदत्त गुल्ममा शव पु¥याए लगत गुल्मको गेटदेखि तीन सय मीटर दूरीमा रहेको सुजनको घरमा पु¥याई शवयात्रा सुरु गरिएको थियो । शवयात्रामा सयौंको सहभागिता थियो । रोजगारीका लागि काठमाण्डौं पुगेको बेला मृत्यू भएको खवरले सबैको सदभाव थियो । 

तेह्र महिना अघि बुबा भक्तबहादुर रावतको मृत्यूपछि विधवा आमा, एक बहिनी र एक भाईको भरोसाको खम्बा ठानिएको युवाको रोजगारीको खोजीको क्रममा प्रहरीको गोलीबाट मृत्यू भएको घटनाले सरकारप्रति सबैतर्फबाट आक्रोस पोखिएको थियो ।   

मृतकका परिवार र सरकार पक्षबीच चार बुँदे सहमति मृतक युवाहरुलाई शहीद घोषणाका लागि पहल गर्ने, मृतक परिवारका एक-एक जना सदस्यलाई रोजगारी दिने, शव सम्वन्धित जिल्लासम्म पठाइदिने र उचित राहत सहयोग दिने सहमति भएको थियो । 

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयको सहसचिव उमाकान्त अधिकारी र मृतकका आफन्तहरु बीरेन्द्रका बुबा टेकबहादुर शाह तथा सुजनका मामा टेकबहादुर कटुवालले सहमति पत्रमा दस्तखत गर्नुभएको छ । 

शुक्रवार ललितपुरको बालकुमारीमा रहेको ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दैलेखका सुजन र अछामका बीरेन्द्र शाहको ज्यान गएको थियो ।
 

प्रतिक्रिया