उत्कृष्ट काम गरेका दुई वटा सहकारीहरु सम्मानित
दैलेखमा उत्कृष्ट काम गरेका दुई वटा सहकारीहरुलाई शुक्रबार समारोहबीच सम्मान गरिएको छ । जिल्ला सहकारी संघ लिमिटेडको दैलेख सदरमुकाममा चौधौं साधारणसभामा गुराँस गाउाँपलिका वडा नं. ४ को जनसेवा बचत तथा ऋण सहकारी लिमिटेडलाई जिल्लाकै उत्कृष्ट बचत तथा ऋण परिचालन गरेको र नारायण नगरपालिका वडा नं. २ को कृतिदेवल कृषि सहकारी संस्थालाई उत्पादन र बजारमा वितरण राम्रो गरेको भनी सम्मान गरिएको छ ।
कृतिदेवल कृषि सहकारी संस्थाका अध्यक्ष दिपक थापा र जनसेवा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष कृष्णबहादुर मल्ललाई उक्त सम्मान गर्दै जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले सहकारी साधारण किसानहरुलाई बचतको बानी बसाउने र कृषिमा व्यवसायिकता सिकाउन राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।
जिल्ला सहकारी संघ लिमिटेडको दैलेखका अध्यक्ष भूपेन्द्रकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका पूर्व सञ्चालक हरिहरनाथ योगी, राष्ट्रिय सहकारी बैंकका कर्णाली प्रदेश प्रमुख हिरा सुनार, नारायण नगरपालिका वडा नं. २ का वडाध्यक्ष रेशमबहादुर थापाले सहकारीको महत्व बारे प्रकाश पार्नुभएको थियो ।
उक्त कार्यक्रममा गाउँमा छरिएका सहकारीहरु र जिल्ला सहकारी संघ लिमिटेडबीचको सहकार्यता विषयमा जिल्ला सहकारी संघका पूर्वअध्यक्ष भक्तकिशोर श्रेष्ठ, नारायण नगरपालिका सामाजिक विकास शाखा प्रमुख खमबहादुर थापा, जीआईजेड ग्राप परियोजनाका प्रतिनिधि श्रुती तिवारी लगायतले बोल्नुभएको थियो ।
प्रतिक्रिया