दुर्गममा उदाएका कवि दिपिन
निर्मल अधिकारी
दैलेख – ठाटिकाँध गाउँपालिका वडा नं -३ बिशालाका दिपिन सिजापतिसँग मेरो भेट १५ वर्ष अगाडी दैलेख बजारमा भएको थियो । त्यतिखेर हुनुहुदो रहेछ उहाँ र म एउटै अभियानमा थियौ । असल शासन कार्यक्रम मार्फत सार्वजनिक सेवामा गुणस्तरीयता र प्रभावकारीता ल्याउन सेवाग्राहीमैत्री वातावरण र भ्रष्ट्राचार अन्त्यका लागि हाम्रो अभियान थियो ।
उहाँ गुनासो चौतारी कार्यक्रमका सञ्चालक हुनुहुन्थ्यो । बजारका चोक चोकमा गुनासो चौतारी कार्यक्रम सञ्चालन गर्दै सर्वसाधरण नागरिकका गुनासाहरु संकलन गर्ने र सम्बोधनका लागि सम्बन्धित निकायमा पत्राचार गरी पहल गर्ने हाम्रो अभियान थियो । उहाँ त्यतिखेरै चोकमा कविता सुनाउनु हुन्थ्यो । लय हालेर कविता वाचन गर्नुहुन्थ्यो । नारायण क्याम्पसमा अध्ययनरत दिपिन त्यतिखेरका पढाईमा अब्बल र इमान्दार छात्र पनि हुनुहुन्छ ।
उहाँसँग करिव १५ वर्षपछि विसल्लामा भेट भयो । भवानी मा.विका उहाँ शिक्षक हुनुहुदो रहेछ । उहाँले पुरानो त्यहि स्मरण दोहो¥याउनुभयो । रंगहरुसँग खेल्दै गरेको प्रकृति र मधुरसाझमा भएको हाम्रो भेट तातोपानीको गिलाससँग मजा लियौ र गफियौ । मलाई हरिबँस राय बच्चनको मधुशाला कविताको याद आयो र सोचे हाम्रो भेट एउटा त्यस्तै मधुशालामा भएको छ । तर त्यो पनि होईन । हरिवंस बच्चनले कवितामा मधुशालाको बयान गरेका छन् । जिवन र जवानीको ब्याख्या छ । हामी मधुशालामा त प्रवेश गरेका थिएनौ । काचँको गिलासमा टल्किएको रँगहिन पानी र यौवन ओइलाएकी युवतिको जवानी जस्तै देखिने त्यो साझ हाम्रो लागि स्मरण योग्य र साहित्यीक बन्न लाएक थियो ।
एक सेकेण्डले हरेक व्यक्तिको जिवनमा फरक पार्छ भने करिव डेढ दशक समय धेरै लामो समय हो । डेढ दशक भित्र हरेक व्यक्तिको जिवनमा धेरै हलचल आइसकेको हुन्छ । एउटा बच्चा युवा बन्छ । युवा बयश्क बन्छ अनि बयश्क बृद्ध बनि सकेको हुन्छ । कतै रुखहरु सुकेर उजाड भईसकेका हुन्छन् त कतै हरियाली हुन्छ । उहाँको जिवनमा अझै साहित्यीक उचाई थपिएको छ । बोलिमा निखारता आएको छ । जुन मैले लामो समय सम्म सुन्न सकिरहेको थिइन् ।
उहाँले भन्नुभयो, सर म कविता सुनाउँछु । साहित्यमा मलाई पनि रुचि भएका कारण उहाँको कविता सुन्न मलाईपनि रहर जागेर आयो । उहाँले लयमा सुनाउनुभयो ।
सिगो ज्यान धुवा र बादल बनोस कैलासमा ठोकियोस
धर्तिको जब उट सुन्छ तबले पानी भै पोखियोस
झण्डा चन्द्र र सुर्यको चरणमा मेरो सिरानी गरु
बोलु अन्तिम बाक्य नित्य जय होस, नेपाल भन्दै मरु !
शार्दुलविक्रिडित छन्दमा लेखिएका उहाँका कवितामा राष्ट्रभक्तिको प्रेम भेटिन्छ साथै प्रकृतिको उत्कृष्ट बयान गर्नुभएको छ । राष्ट्रका लागी आफनो ज्यान धुवाँ र बादल बनाउन तयार हुने कवि दिपिन झण्डा चन्द्र र सुर्यको सिरानी गरेर मृत्युवरण गर्न चाहनुहुन्छ ।
उहाँ यति धेरै सजिला कविता वाचक हुनुहुन्छ उहाँमा कुनै घमण्ड छैन् । सरल र सहज स्वभावका दिपिन जस्ले जति खेर कविता सुनाउन लगाए पनि धाराप्रवाह रुपमा कविता वाचन गर्नुहुन्छ । हरेक विषय र प्रसँग अनुसार कविताबाटै जवाफ फर्काउने उहाँको शैली धेरै जसोलाई रमाईलो लाग्छ र मन पराउछन् ।
रात छिपिदै गएको थियो । घरवाहिर गएका सबै घरमा फर्किदै थिए । यात्रुहरु आउने जाने मुल बाटो त्यही थियो जहाँ हामी बसेका थियौ । उहाँ प्राय: हरेक साझ कविता सुनाउने गर्नुहुन्छ । जब उहाँको स्वर गुञ्जिन शुरु हुन्छ उहाँको कविता नसुनेर घर फर्किने कमै हुन्छन् । राष्ट्रब्यापि कविता प्रतियोगितामा गोर्खालीको परिचय कविताले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । मन्दाक्रान्ता छन्दमा तयार गरिएको कविता
गोर्खालीको परिचय हुदाँ, विश्वमा गर्भ गर्छौ
इन्द्रेनीका पहिरन भिरी, देशमा रंग छर्छौ
पोख्छौ हाम्रो जति छ पसिना, हाडमासी छर्दै
फाल्छौ खुर्कि ललुस धमिलो, राष्ट्र प्यारो सिगार्दै
आधि आओस र सरग खसोस, माथ यो झुक्न दिन्नौ
एकै चिम्टी पनि मुलुकको, मृतिका दुखन दिन्नौ
कालपानी र सिर लिपुको लिपिया त्यो नछोडौ
गाडौ झण्डा हिड विजयको रक्तले साध कोरौ ।
गत वर्ष दशैको नजिकै बर्दियाको बासँगढीमा दशैको शुभकामना आदान प्रदान तथा कृति विमोचन कार्यक्रम आयोजना गरिएको रहेछ । उक्त कार्यक्रममा उहाँलाई बोलाइएको थिएन् । एक जना साथीसँगको चिनजानले गर्दा कार्यक्रम सहभागी हुनुभएको थियो दिपिन । कार्यक्रममा उहाँलाई कविता वाचन गर्न लगाईयो । उहाँले कार्यक्रममा कविता सुनाउनुभयो । “यो क्यालेण्डरमा कतै पनि नहोस, रातो दशैको दिन । थाप्लोमा अझ ब्याजस्याज थपिने, बोकि नल्याओस रिन । कविता सुनाउदै गर्दा धेरै जनाको आखाँबाट आँसु रसायो । आयोजक नै स्तब्ध बने । कवितासँग मेल खाने हरेक नेपालीको जिवन थियो कविता । हरेक सहभागीलाई कवितामा आफनै जिवन झल्किए जस्तै अनुभव भयो । हरेक दर्शककोे जिवन कविता भएर आएको छ अनि दशै त्यहि कविता बनेर छाईरहेको छ ।
बोको ढाल्छ छिमेकले तर यहाँ, थालिन्छ फर्सि कठै
खाउ मासु भने हुदै रुपिया, चाडै न आएस दशै
कर्जामा घरखेत जिवन लियौ, ए साहु माग्छौ अरु
छाला दिन्छु झिकि तिरेर अहिलै, लै जा मृगौला बरु
कविता वाचन गरेर फर्किदा स्रष्टासँग आयोजकले क्षमा मागेको, उहाँले बताउनुभयो । हामीले तपाईको प्रतिभा चिन्न सकेका थिएनौ । तपाई आइदिएर हाम्रो कार्यक्रमलाई सफल बनाईदिनु भयो भन्दै धन्यवाद दिएको दिपिनको अनुभव थियो ।
उहाँले मान्छेको खेती कविता संग्रह प्रकाशन गर्नुभएको छ भने दर्जन भन्दा बढी फुटकर कविताहरु विभिन्न साहित्यिक प्रतिकाहरुमा प्रकाशित भएका छन् । ‘गिरिजा प्रचण्ड सम्वाद’ खण्डकाव्य र ‘रगतको चिठी’ गजल सँग्रह प्रकाशित हुने तयारीमा रहेको दिपिनले बताउनुभयो । विभिन्न कविता प्रतियोगितामा सहभागी हुने दिपिनले उत्कृष्ट कविता तथा गजल वाचनमा स्थान हासिल गर्ने गरेका छन् । वर्ष ३७ का दिपिनले राम्रो अवसर पाएमा राष्ट्रिय कविको रुपमा पहिचान बनाउने सम्भावना देखिन्छ जुन दैलेखको लागि गौरवको विषय हो ।
प्रतिक्रिया